स्वरोजगार लघुवित्तको नाफा दोब्बरले बढ्यो, आम्दानी पनि उच्च

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव) मा दोब्बरभन्दा बढी खुद नाफा कमाएको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ।
कम्पनीले अघिल्लो आवको असार मसान्तसम्म ११ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत आवको असार मसान्तसम्म ११५.१७ प्रतिशतको वृद्धि सहित २३ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको हो।
कम्पनीको खराब कर्जा (एनपीएल) अघिल्लो वर्ष ५.५६ प्रतिशत रहेकोमा गत वर्ष बढेर ७.५४ प्रतिशत पुगेको छ। खराब कर्जा बढे तापनि कम्पनीको खुद नाफा बढेको विवरणले देखाएको छ।
त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी ४२ करोड ५६ लाख रुपैयाँबाट ४७.२४ प्रतिशतले बढेर ६२ करोड ६७ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ५० करोड ८० लाख रुपैयाँबाट ४२.७० प्रतिशतले बढेर ७२ करोड ५० लाख रुपैयाँ पुगेको छ।
त्यसैगरी कम्पनीले अघिल्लो वर्ष १३ करोड ४ लाख रुपैयाँ सञ्चालन नाफा कमाएकोमा गत वर्ष १४९.३० प्रतिशतको वृद्धि सहित ३२ करोड ५३ लाख रुपैयाँ सञ्चालन नाफा कमाउन सफल भएको छ।
यता कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि अघिल्लो वर्ष १६.६० रुपैयाँ रहेकोमा गत वर्ष १३.९८ प्रतिशतले बढेर ३०.५८ रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १६०.२० रुपैयाँ रहेको छ।
कम्पनीको चुक्ता पूँजी ७८ करोड ३९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष ९ करोड ९१ लाख रुपैयाँ रहेको जगेडा कोषको आकार गत वर्ष बढेर १७ करोड १७ लाख रुपैयाँ पुगेको छ भने रिजर्भ कोषको आकार पनि २४ करोड ५३ लाख रुपैयाँबाट बढेर ३० करोड रुपैयाँ नाघेको छ।
यस कम्पनीले ४ अर्ब १९ करोड रुपैयाँ सापटी लिएर ग्राहकहरूलाई ९ अर्ब २९ करोड रुपैयाँ कर्जा प्रवाह गरी त्यसबाट करीब साढे ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ।












