निरन्तर खुम्चिदै बजारः लगानीकर्ताको डुब्यो अर्बौं लगानी, फाइनान्स र लघुवित्तमा भारी गिरावट

२७ श्रावण २०८२, मंगलवार १५:०८

काठमाडौँ । पुँजी बजारमा आज पनि राताम्यको क्रम रोकिएको छैन । लगातारको गिरावटका कारण लगानीकर्ताको अर्बौं रुपैयाँ बराबरको लगानी बालुवामा पानी जस्तै बगिरहेको छ ।

केही साताअघि ३,००० बिन्दुमाथि पुगेको बजार ३,२०० भन्दा माथि पुग्ने आशामा हौसिएका लगानीकर्ता अहिले डुबेका छन् । माफियाको प्रभाव र उच्च उचालको मोहमा परेर शेयर खरिद गर्नेहरु पछिल्ला दिनमा ठूलो घाटामा पुगेका छन् जसका कारण बजारमा आक्रोश बढ्दै गएको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिले दिएको सकारात्मक संकेतका कारण केही समय बजारमा उत्साह देखिएको थियो । तर पछिल्ला हप्ताहरुमा सूचक निरन्तर खुम्चिँदै गएको छ । बजार घटेसँगै लगानीकर्ताको मनोबल कमजोर भएको विश्लेषकहरु बताउँछन् ।

यसैबीच, गत आर्थिक वर्ष २०८१/०८२ को बैंक तथा वित्तीय संस्थाहरुको वार्षिक वित्तीय विवरण सार्वजनिक भइरहेको छ । हालसम्म आएको अधिकांश कम्पनीको रिपोर्ट सकारात्मक रहेको छ र लाभांश वितरण क्षमतामा समेत सुधार देखिएको छ । तर, यस सकारात्मक वित्तीय संकेतको प्रभाव बजारमा देखिन सकेको छैन ।

बजारका लागि आवश्यक अधिकांश सूचकहरू अनुकूल देखिए पनि सूचकले अझै उकालो पक्रन सकेको छैन । केही विश्लेषकहरुका अनुसार यस्तो अवस्थामा बजार लामो समय स्थिर रहन सक्ने सम्भावना छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.७१ अकंले घटेर २७९७.७४ बिन्दुमा कायम भएको छ । आज ३२३ कम्पनीको १ करोड ७६ लाख ७१ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ९१ करोड ८९ लाख रुपैयाँको कारोबार भएको हो ।

आज सर्वाधिक शेयर मूल्य घट्नेमा माइक्रोफाइनान्स रहेको छ । लघुवित्तको शेयर मूूल्य १.५८ प्रतिशतले घटेको हो । साथै, फाइनान्स समूहको १.२५ प्रतिशत, हाइड्रोपावर समूहको १.१७ प्रतिशत, वाणिज्य बैंक समूहको ०.९१ प्रतिशत र विकास बैंक समूहको ०.५८ प्रतिशतले शेयर मूल्य घटेको हो ।

यसदिन २४ कम्पनीको शेयर मूल्य बढेको छ भने २२५ कम्पनीको घटेको छ । आज नेपाल रिइन्स्योरेन्सको २६ करोड ७७ लाख, हिमालनय रिइन्स्योरेन्सको २३ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

मंगलबार सिटि होटलको शेयर मूल्यमा मात्रै सकारात्मक सर्किट देखिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*