‘नेप्से एआई’ एप डाउनलोडपछि करोडौँ बैंक रकम गायब, डिजिटल ठगीको भयानक खेल सार्वजनिक

काठमाडौँ । शेयर बजारको विश्लेषण गर्ने नाममा सामाजिक सञ्जालमार्फत प्रचार गरिएको ‘नेप्से एआई’ नामक मोबाइल एप डाउनलोड गरेपछि करोडौँ रुपैयाँ बैंक खाताबाट गायब भएको घटनाको तथ्य सार्वजनिक भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोमा यस विषयमा उजुरीहरू दर्तासमेत भएको छ। व्युरोका अनुसार नेप्से एआई एप डाउनलोड गर्दा एउटा व्यक्तिको मात्रै २८ लाख ६१ हजार रुपैयाँ बैंक खाताबाट गायब भएको हो।
ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार फेसबुक, इन्स्टाग्राम र टिकटकजस्ता लोकप्रिय सामाजिक सञ्जालहरूमा ‘नेप्से एआई’ एपको भ्रामक विज्ञापन देखाएर मानिसहरूलाई एप डाउनलोड गर्न प्रलोभन दिइएको थियो। ती एपहरू डाउनलोड गरेपछि बैंक खातामा रहेको ठूलो रकम अनौठो रूपमा गायब भएको उजुरी धेरैका तर्फबाट प्राप्त भएको छ। त्यसमा मात्रै सीमित नरहेर एक व्यक्तिको बैंक खाताबाट मात्रै २८ लाख ६१ हजार रुपैयाँ गायब भएको तथ्यसमेत प्रहरीले पत्ता लगाएको छ।
यस घटनाले डिजिटल माध्यमबाट हुने ठगीको नयाँ रूपलाई उजागर गरेको छ। पीडितहरूले बैंक खाताबाट रकम कटौती भएकोबारे प्रहरीलाई दिएको उजुरीमा बैंकसँग पनि सम्बन्धित तथ्य संकलन गरी अनुसन्धान अघि बढाइएको छ।
सामाजिक सञ्जालहरूमा भ्रामक विज्ञापन मार्फत मानिसहरूलाई आकर्षित गरी अनधिकृत एप डाउनलोड गराउने क्रम निरन्तर बढ्दै गएको अवस्थामा प्रहरीको ध्यानाकर्षण भएको छ। त्यसैले प्रहरीले सबैलाई आधिकारिक एप स्टोरबाट मात्र एप डाउनलोड गर्न, टु-फ्याक्टर अथेन्टिकेशन कोडको प्रयोग गर्न र पासवर्डहरू नियमित रूपमा परिवर्तन गर्दै जान सुझाव दिएको छ। साथै, एनी डेस्क, टिम भ्युअरजस्ता रिमोट एक्सेस सफ्टवेयरहरू कुनै पनि अपरिचित व्यक्तिलाई नदिन चेतावनी समेत जारी गरेको छ।
डिजिटल प्रविधिको सदुपयोगको सट्टा यसरी अनलाइन ठगीको गिरोहले शोषण गर्न खोज्दा आर्थिक रूपमा कमजोर हुने नागरिकहरूको अवस्था अझै दयनीय हुने खतरा बढेको छ।












