तानाशाही प्रवृत्ति र गुटबन्दीविरुद्ध विद्युत प्राधिकरण कर्मचारी संघका ११ सदस्यको सामूहिक राजीनामा

काठमाडौँ । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघका ११ जना सदस्यले सामूहिक रूपमा साधारण सदस्यतासमेत नहरने गरी राजीनामा दिएका छन्। उनीहरूले संघको नेतृत्वमा तानाशाही प्रवृत्ति हावी भएको, गुटबन्दी र व्यक्तिगत स्वार्थका लागि संगठन प्रयोग गरिएको, कर्मचारीका हक–अधिकार र हितका मुद्दामा उदासीनता देखाइएको आरोप लगाएका छन्।
राजीनामा दिने सदस्यहरूमा इन्द्रप्र न्यौपाने, गजेन्द्र सिंह थापा, महेश्वर दत्त पनेरु, पुष्पराज भट्टराई, मनोहरी बस्नेत, गौरीनाथ श्रेष्ठ, देवराज घिमिरे, सगींता अधिकारी, सन्तोष गौतम, निलप्र बसौला र नारायण गौतम रहेका छन्। उनीहरूले संघको स्थापना कालदेखि हालसम्म संगठनको स्थापना, सञ्चालन, सदस्यता विस्तार र पेसागत संगठन मजबुत बनाउन बुद्धि, विवेक र क्षमताका साथ योगदान पुर्याएको दाबी गरेका छन्।
तर पछिल्ला वर्षहरूमा नेतृत्वले ट्रेड युनियनका मूल्य–मान्यता बिर्सेर लामो समयसम्म व्यक्तिगत लाभका लागि संगठनको प्रयोग गरेको, आन्तरिक गुटबन्दीमार्फत महाधिवेशनमा सक्षम र सक्रिय सदस्यलाई पाखा लगाएको, व्यवस्थापनसँग अनुचित सहकार्य गरेर सामूहिक सौदाबाजीका मुद्दामा समेत आफ्नो फाइदाको बार्गेनिङ गरेको, कर्मचारीका आर्थिक, अल्पकालीन र दीर्घकालीन विषयमा चासो नदेखाएको, सरुवा तथा ज्यालादारी समस्या समाधानमा उदासीन रहेको तथा उन्नत र सिर्जनशील विचार राख्ने आफ्नै सदस्यलाई कारबाही गर्ने प्रवृत्ति अपनाएको आरोप उनीहरूको छ।
वर्तमान नेतृत्वले पनि यस्ता विकृतिलाई निरन्तरता दिइरहेको अवस्थाले आफूहरूलाई संगठनमै रहन असम्भव बनाएको भन्दै ११ जना सदस्यले सामूहिक राजीनामा दिएका हुन्।














