वाणिज्य विभागद्वारा भाटभटेनी सुपर मार्केटलाई कारबाही

काठमाडौँ । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं महानगरपालिका–०५ स्थित भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रा. लिलाई उपभोक्ता संरक्षण ऐन, २०७४ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम निर्देशन दिएको छ। मंगलबार साउन २७ गतेका दिन गरिएको अनुगमन निरीक्षणमा विभागले भाटभटेनीसहित विभिन्न उद्योग तथा फर्महरूलाई आवश्यक निर्देशन तथा कारवाही गरेको हो।
विभागको टोलीले अनुगमनका क्रममा न्यू वानियाँ भाँडा पसल, काठमाडौं महानगरपालिका–९६ लाई रु. ५५ हजार, चक्रवर्ती फर्निचर एण्ड इन्टेरियर प्रा. लि., काठमाडौं महानगरपालिका–१४ लाई रु. ५१ हजार र रन स्टिल फर्निचर प्रा. लि., काठमाडौं महानगरपालिका–१३ लाई रु. ११ हजार जरिवाना गरेको छ।
यसैगरी आदर्श विजनेश प्रा. लि., काठमाडौं महानगरपालिका–१५ लाई व्यवसायसँग सम्बन्धित कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ भने सक्षम ट्रेडिङ कन्सर्न, काठमाडौं महानगरपालिका–१६ लाई आवश्यक कागजातसहित विभागमा उपस्थित हुन भनिएको छ।
क्योदाइ मल्टिप्रपोज कन्सल्टेन्सी प्रा. लि., काठमाडौं महानगरपालिका–२८ लाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम व्यवसायीले पालना गर्नुपर्ने दायित्व पूर्ण रूपमा पालना गर्दै व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको छ। काठमाडौं ल्याण्डमार्क कन्सल्टेन्सी प्रा. लि., स्किल स्पार्क प्रा. लि., ए वान के फैशन कलेक्सन र ग्लोबल टायर एण्ड एसेसोरिजलाई सामान्य निर्देशन दिइएको विभागले जनाएको छ।













