ग्लोबल आइएमई बैंकले कमायो ६ अर्ब २० करोड रुपैयाँ मुनाफा, वितरणयोग्य नाफामा उछाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष (आव)को असार मसान्तसम्म ६ अर्ब २० करोड रुपैयाँ खुद मुनाफा कमाउन सफल भएको छ। अघिल्लो आवको असार मसान्तसम्म ६ अर्ब १३ करोड रुपैयाँ खुद मुनाफा कमाएको यस बैंकको गत वर्ष १.१० प्रतिशतले खुद मुनाफामा सामान्य वृद्धि भएको हो।
अघिल्लो वर्ष १६ अर्ब ८५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत वर्ष सामान्य घटेर १६ अर्ब ७१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यस बैंकले गत वर्ष २१ अर्ब ३७ करोड रुपैयाँ कुल आम्दानी गरेको छ जबकि अघिल्लो वर्ष बैंकले २० अर्ब ६५ करोड रुपैयाँ मात्रै कुल आम्दानी गरेको थियो।
यद्यपि बैंकको सञ्चालन नाफा भने २.७५ प्रतिशतको गिरावट सहित ८ अर्ब ७७ करोड रुपैयाँमा झरेको छ जुन अघिल्लो वर्ष ९ अर्ब १ करोड रुपैयाँ थियो। यससँगै बैंकको प्रतिशेयर आम्दानी १६.९९ रुपैयाँबाट घटेर १६.२८ प्रतिशतमा झरेको छ।
चुक्ता पूँजी सबैभन्दा बढी अर्थात् ३८ अर्ब ११ करोड रुपैयाँ रहेको यस बैंकको रिजर्भमा २४ अर्ब १० करोड रुपैयाँ रहेको छ। बैंकको वितरणयोग्य नाफा अघिल्लो वर्ष ५० करोड ६७ लाख रुपैयाँ रहेकोमा गत वर्ष ९६१.६० प्रतिशतको उछालसहित ५ अर्ब ३७ करोड रुपैयाँ नाघेको छ।
बैंकको खराब कर्जा ४.१७ प्रतिशतबाट बढेर ४.८७ प्रतिशत कायम भएको भने प्रतिशेयर नेटवर्थ १७७.६३ रुपैयाँ कायम भएको छ। यस बैंकले ४ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ कर्जा लगानी गरेर त्यसबाट ५ खर्ब ५० अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।












