झापा इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । झापा इनर्जी लिमिटेडले साउन १४ गतेदेखि बिक्रीमा ल्याएको प्रथम चरणको आईपीओमा स्थानीय बासिन्दाले आवेदन दिने आज अन्तिम दिन रहेको छ।
यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट असार ३१ गते अनुमति पाएको थियो। जसमध्ये प्रथम चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको थियो।
कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ३ लाख ८० हजार १९० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५७ हजार २९ कित्ता आईपीओ निष्कासन गरेको थियो। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओ भने साउन १८ गते नै बन्द भइसकेको छ भने आयोजना प्रभावितलाई निष्कासन गरिएको आईपीओ आज साँझ ५ बजेपछि बन्द हुनेछ।
आयोजना प्रभावितलाई छुट्याइएको जम्मा आईपीओको आधा अर्थात् १ लाख ९० हजार ९५ कित्ता झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ४ मा रहको आयोजनाको १०० मिटर वरपर बस्ने नागरिकले र बाँकी १ लाख ९० हजार ९५ कित्ता सोही नगरपालिकाको आयोजनाको १०० मिटर वरपरको क्षेत्र बाहेकमा बस्नेले आवेदन दिन सक्नेछन्।
यसमा आवेदन दिंदा घटीमा १० कित्ता र बढीमा ५ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ। यसर्थ यो आईपीओ भर्न कम्तीमा १ हजार रुपैयाँ र बढीमा ५ लाख रुपैयाँ लाग्नेछ।
यस कम्पनीले ईक्रा नेपाल लिमिटेडबाट ‘ईक्राएनपी–आईआर बी माइनस’ रेटिङ पाएको छ। यसले समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।











