शिवम् सिमेन्ट्सको मुनाफामा उछालः ईपीएससहित अधिकांश सूचकमा लोभलाग्दो ग्रोथ, कुन कति मजबूत ?

काठमाडौँ । शिवम् सिमेन्ट्स लिमिटेड थप अब्बल बन्दै गएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण अनुसार कम्पनीका अधिकांश सूचकमा उल्लेख्य सुधार देखिएको हो ।
गत आर्थिक वर्षमा कम्पनीले ७९ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०५.८५ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २५ करोड ९६ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
यता, कम्पनीको बिक्री आम्दानी ०.७८ प्रतिशतले बढेर ७ अर्ब ७६ करोड ४२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको बिक्री आम्दानी ७ अर्ब ७० करोड रुपैयाँ रहेकाो थियो ।
समिक्षा अवधिमा कम्पनीको कुल नाफा ६६.३० प्रतिशतले बढेर १ अर्ब ७२ करोड ९३ लाख रुपैयाँ पुगडडेको छ । साथै, कम्पनीको अन्य आम्दानी ३०.७८ प्रतिशत घटेर १३ करोड ९४ लाख र कुल खर्च १.६६ प्रतिशत घटेर ९४ करोड ६ लाख रुपैयाँ पुगेको छ।
चौथो त्रैमाससम्ममा कम्पनीको चुक्तापूँजी ८.५५ प्रतिशतले बढेर ५ अर्ब ४५ करोड रुपैयाँ र कम्पनीको जगेडा कोष ८.२२ प्रतिशतले बढेर ४ अर्ब ८३ करोड रुपैयाँ सञ्चित छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ । यसअवधिमा कम्पनीको प्रतिशेयर आम्दानी आम्दानी ९ रुपैयाँ ३९ पैसा बढेर १४ रुपैयाँ ५५ पैसा पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ ५७ पैसा रहेको छ।













