अपी पावरको ठूलो छलाङ् : मर्स्याङ्दी बेसी जलविद्युत् हातमा, उत्पादन क्षमता ११२ मेगावाट पुग्ने

काठमाडौं । सर्वसाधारणको लगानी रहेको अपी पावर कम्पनी लिमिटेडले ऊर्जामा लगानी विस्तार गर्ने क्रममा ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ। कम्पनीले लमजुङमा अवस्थित र दिव्य ज्योति हाइड्रोपावरले प्रवर्द्धन गरिरहेको उक्त आयोजना प्राप्त गर्ने निर्णय गरेको हो।
मंगलबार बसेको सञ्चालक समितिको बैठकले मर्स्याङ्दी बेसी आयोजना आर्थिक तथा प्राविधिक दृष्टिले सम्भाव्य देखिएकाले दिव्य ज्योति हाइड्रोपावरको सम्पूर्ण सेयर खरिद गरी कम्पनीलाई पूर्ण स्वामित्वमा लिएर सञ्चालन गर्ने निर्णय गरेको हो
हाल अपी पावरले जलविद्युत् र सौर्य ऊर्जा गरी आधा दर्जन आयोजना सञ्चालन गर्दै ६२.५ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ। कम्पनीको मातहत ४० मेगावाटको माथिल्लो चमेलिया, ८.५ मेगावाटको नौगाड, ८ मेगावाटको अपर नौगाड, ४ मेगावाटको चन्द्रपुर सोलार, एक–एक मेगावाटको ढल्केबर र सिमरा सोलार परियोजनाबाट विद्युत् उत्पादन भइरहेको छ। मर्स्याङ्दी बेसी आयोजना सम्पन्न भएपछि अपीको कुल उत्पादन क्षमता ११२ मेगावाट पुग्नेछ।
गत आर्थिक वर्षको चैतसम्म अपीले ३५ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। नौ महिनामा एक अर्ब १९ करोड रुपैयाँ बराबरको बिजुली नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ। अपीको प्रतिसेयर आम्दानी ७.७६ रुपैयाँ र नेटवर्थ १०९ रुपैयाँ रहेको छ भने चुक्ता पुँजी ६ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ।













