लयमा फर्किंदै यति एयरलाइन्सः ९ महिनामा चार अर्बको व्यापार, ६ अर्ब ३६ करोड कर्जाका लागि रेटिङ

२८ श्रावण २०८२, बुधबार १२:१४

काठमाडौँ । १५ जनवरी २०२३ मा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नजिकै यतिको एक विमान दुर्घटनामा परेपछि केही समयका लागि वित्तीक रुपमा खुम्चिएको यति एयरलाइन्स अहिले पुनः लयमा फर्किरहेको छ । सन् २००२ मा स्थापना भएको यो कम्पनीले नेपालको आन्तरिक हवाई सेवा क्षेत्रमा लगातार सेवा दिँदै आइरहेको छ । यात्रुहरूको विश्वास र सेवा विस्तारका कारण यति एयरलाइन्सले करिब १७ प्रतिशत बजार हिस्सा ओगटेर देशको दोस्रो ठूलो घरेलु विमान सेवा प्रदायकको रूपमा आफूलाई स्थापित गरेको छ ।

७ वटा एटीआर–७२ विमान सञ्चालन गरिरहेको कम्पनीको ६ वटा जहाज आफ्नै स्वामित्वमा छन् भने १ विमान लिजमा लिइएको छ । यति एयरको सम्पूर्ण स्वामित्व प्रवद्र्धकहरूको हातमै रहेको छ । प्रमुख प्रवद्र्धकमा एशियन लाइफ इन्स्योरेन्स लिमिटेडको ४६.८२ प्रतिशत, ल्हाक्पा सोनाम शेर्पाको २५.०३ प्रतिशत र चन्दा शेर्पाको २०.०६ प्रतिशत हिस्सेदारी रहेको छ ।

विमान दुर्घटनामा परेपछि यसले ग्राहकहरूको धारणा नकारात्मक रूपमा प्रभावित ग-यो । यो घटनाले समग्र आर्थिक मन्दी तथा हवाई टिकटमा मूल्य अभिवृद्धि कर लागू हुनुजस्ता कारणले गर्दा यतिको बजार हिस्सा २०२२ मा करिब २१ प्रतिशत र वित्तीय वर्ष २०२१ मा करिब २३ प्रतिशतबाट घटेर २०२३ मा करिब १७ प्रतिशत मा झ-यो । यद्यपि, पर्यटन क्षेत्रमा आएको पुनःउत्थान र दुईवटा नयाँ विमानलाई फ्लीटमा समावेश गर्नुका कारण कम्पनीले २०२४ मा तीव्र पुनःउठान देखाएको छ । कम्पनीले व्यापारिक आय, वित्तीय सन्तुलन र नाफा क्षमताका सूचकहरूमा सकारात्मक परिणाम देखाउँदै आएको छ ।

आर्थिक वर्ष २०८१/८२ को पहिलो ९ महिनामा मात्रै यति एयरले ४ अर्ब ११ करोड ७० लाख रुपैयाँ बराबरको कुल सञ्चालन आम्दानी गरेको छ । यो उपलब्धि अघिल्लो आर्थिक वर्षको वार्षिक कारोबार बराबरको स्तरमा पुगेको देखिन्छ । २०८०/८१ मा ४ अर्ब २५ करोड ८० लाख, २०७९/८० मा ३ अर्ब ७७ करोड ५० लाख, २०७८/७९ मा ३ अर्ब ९२ करोड, र २०७७/७८ मा १ अर्ब ३९ करोड ६० लाख रुपैयाँको कारोबार गर्दै कम्पनीले निरन्तर बजार विस्तारको संकेत दिएको छ । यात्रु संख्यामा भएको वृद्धि र सेवा विस्तारका कारण आय स्थिर रूपमा बढिरहेको छ ।

अध्यक्ष सोनाम शेर्पाले पर्यटन क्षेत्रमा ५० वर्षभन्दा बढीको अनुभवसहित यति एयरको नेतृत्व गर्दै आएका छन् । सञ्चालक समितिमा प्रबन्ध निर्देशकको रूपमा चन्दा शेर्पा र उप–प्रबन्ध निर्देशकको रूपमा नोर्बु छिरिङ शेर्पा रहेका छन् दुबैजना पर्यटन क्षेत्रमा व्यापक अनुभवसम्पन्न छन् । मुख्य कार्यकारी अधिकृत सुवास सापकोटा पनि चार्टर्ड एकाउन्टेन्ट हुन् ।

टिकट बिक्रीबाट मुख्यतया प्राप्त हुने यतिको सञ्चालन आम्दानी वित्तीय वर्ष २०२४ मा वित्तीय वर्ष २०२३ को तुलनामा करिब १३ प्रतिशतले बढेको छ । साथै, वित्तीय वर्ष २०२५ को तेस्रो त्रैमासमा यो वार्षिक आधारमा करिब २९ प्रतिशतको मजबुत वृद्धि देखिएको छ ।

यस्तै, वित्तीय वर्ष २०२३ पछि कम्पनीले उडानमा ११ प्रतिशत, यात्रु संख्यामा १४ प्रतिशत, अमेरिकन डलरबाट ६३ प्रतिशत, नेपाली रुपैयाँबाट १८ प्रतिशत र टीओआईबाट २७ प्रतिशत आम्दानी वृद्धि गरेको हो।

कस्ता छन् अन्य सूचक ?

विदेशी मुद्रामा हुने विनिमय नाफा/नोक्सानको हिसाब गर्दा यति एयरको प्रदर्शन अपेक्षाकृत स्थिर देखिएको छ । २०७७/७८ मा ४ करोड ४० लाख रुपैयाँको नाफा भए पनि २०७८/७९ मा ३० करोड ४० लाख घाटा, २०७९/८० मा १३ करोड घाटा र २०८०/८१ मा १० करोड १० लाख घाटा देखिएको छ ।

नाफा क्षमताको प्रमुख सूचक (ईबिट्डा मर्जिन) २०७८/७९ मा २९.६१ प्रतिशत, २०७९/८० मा २०.०२ प्रतिशत, २०८०/८१ मा २५.९५ प्रतिशत र गत आर्थिक वर्षको पहिलो ९ महिनामा २५.६२ प्रतिशत कायम रहनु सकारात्मक पक्ष हो ।

करेन्ट रेसियो २०७७/७८ मा ०.४८ रहेकोमा पछिल्लो समय १ को वरिपरि पुगेको छ । २०७८/७९ मा ०.७३, २०७९/८० मा ०.७२, २०८०/८१ मा १.०२ र २०८१/८२ को पहिलो ९ महिनामा ०.९५ देखिएको छ । ओभरअल गियरिङ रेसियोको दृष्टिले यति एयरले उल्लेखनीय सुधार गरेको छ । २०७९/८० मा यो अनुपात ४९.८१ गुणा रहेकोमा २०८०/८१ मा ४.४५ गुणा र चालु आर्थिक वर्षमा ३.६१ गुणामा झरेको छ । वित्तीय लिजलाई बाहिर राखेर हेर्दा पनि यो अनुपात २०७९/८० मा ४६.०६ गुणाबाट घटेर २०८०/८१ मा ४.२३ गुणा र हाल ३.४२ गुणामा पुगेको छ ।

त्यस्तै, टीओएल/टीएनडब्ल्यू अनुपात २०७९/८० मा ५८.८० गुणा रहेकोमा २०८०/८१ मा ४.८८ गुणा र हाल ३.९३ गुणामा झरेको छ । इन्टरेस्ट कवरेज रेसियोमा पनि यति एयरले सकारात्मक प्रगति गरेको छ । २०७८/७९ मा २.५७ गुणा, २०७९/८० मा १.२६ गुणामा झरेको यो सूचक २०८०/८१ मा १.७१ गुणा र हाल २.०५ गुणामा पुगेको छ ।

६ अर्ब ३६ करोड कर्जाका रेटिङ

इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले यती एयरलाइन्स लिमिटेडलाई झण्डै साढे ६ अर्ब रुपैयाँ बराबरको कर्जाका लागि रेटिङ प्रदान गरेको छ । कम्पनीका दीर्घकालीन नेपाली रुपैयाँ कर्जाखाताहरू (एनपीआर २ अर्ब ९५ करोड ८३ लाख) र अमेरिकी डलर कर्जा (यूएसडी २ करोड ७१ लाख) लाई आईआरएन ट्रिपल बी माइनस रेटिङ दिइएको छ ।

यसैगरी, कम्पनीका अल्पकालीन बैंक सुविधाहरू (एनपीआर ७५ करोड ७३ लाख) लाई आईआरएन ए थ्री र दीर्घकालीन/अल्पकालीन बैंक सुविधाहरू (एनपीआर २ अर्ब ६४ करोड ६० लाख) लाई आईआरएन ट्रिपल बी माइनस/ए थ्री रेटिङ दिइएको छ ।

कुल नेपाली रुपैयाँ कर्जा रकम ६ अर्ब ३६ करोड १६ लाख र कुल अमेरिकी डलर कर्जा रकम २ करोड ७१ लाख मिलियन रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*