पाँच लगानीकर्ता संगठनको एउटै स्वरः आईजीन निर्देशिका स्वागतयोग्य, संस्थापक शेयर दुरुपयोगमा छानबिनको माग

२८ श्रावण २०८२, बुधबार १३:४१

काठमाडौँ । पूँजी बजारका पाँच लगानीकर्ता संघसंगठनले अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बर (आईजीन नम्बर) सम्बन्धी निर्देशिकालाई स्वागतयोग्य बताएका छन् । जनरल इन्भेष्टर एसोसिएसन, नेपाल सेयरधनी संघ, साधारण लगानीकर्ता संघ नेपाल, नेपाल धितोपत्र लगानीकर्ता संघ र नेपाल सेयर बजार लगानीकर्ता संघले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै यस व्यवस्थाले बजारलाई पारदर्शी, स्थिर र विश्वसनीय बनाउन मद्दत गर्ने बताएका हुन् ।

विज्ञप्तिमा दास्रो बजारमा कारोबारमा रहेका केही कम्पनीका संस्थापक शेयरधनीहरुले लकइन अवधि नखुल्दै शेयर बिक्री गर्ने दुरुपयोग बढेको आरोप लगाइएको छ । उनीहरुले सिडीएस एण्ड क्लियरिङ लिमिटेडले अगाडि बढाएको आईजीन सम्बन्धी निर्देशिकाको मस्यौदा बिलम्ब नगरी स्वीकृत गर्न धितोपत्र बोर्डलाई आग्रह गरेका छन् ।

साथै, केही कम्पनीका संस्थापकले कर्मचारीसँग मिलेमतो गरेर एउटै आईजीन नम्बरको गलत प्रयोग गरी संस्थापक शेयर सर्वसाधारणमा परिणत नहुँदै दास्रो बजारमा उच्च मूल्यमा बिक्री गरेको विषयमा तत्काल छानबिन गरी दोषीमाथि कानुन बमोजिम कारबाही गर्न उनीहरुले माग गरेका छन् । गलत क्रियाकलाप रोक्न दुईवटा आईजीन नम्बर प्रयोग गर्नुपर्नेमा उनीहरुको जोड पनि रहेको छ ।

लगानीकर्ता संघहरूले कम्पनीको आईपीओ वा हकप्रद शेयर आउनुअघि कम्पनीको सुशासन, जोखिम बहन गर्ने क्षमता, पारदर्शिता, व्यवस्थापन तथा व्यवसायिक योजनाको अध्ययन गरेर मात्रै स्वीकृत गर्ने व्यवस्था लागू गर्न नेपाल धितोपत्र बोर्डलाई आग्रह गरेको बताएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*