‘शिखर-७ मा सीसीटीभी र ई-हाजिरी, सेवाग्राहीलाई सहज र पारदर्शी सेवा सुनिश्चित’

काठमाडौँ । डोटीको शिखर नगरपालिका वडा नम्बर ७ ले आफ्नो कामकाजमा पारदर्शिता र चुस्तता बढाउने उद्देश्यसहित एक नयाँ पहल अघि सारेको छ। वडामा अब सेवाग्राहीको आगमन, कर्मचारीको उपस्थिती र सेवा प्रक्रिया निगरानी गर्न सीसीटीभी क्यामरा र इलेक्ट्रोनिक हाजिरी प्रणाली जडान गरिएको हो ।
वडाले यो कदम चाल्दा नागरिकलाई थप व्यवस्थित र सहज सेवा दिने लक्ष्य राखेको जनाएको छ। वडाका अध्यक्ष टेक भट्टले भने, ‘वडाबाटै धेरै सरकारी कामकाजको सुरुवात हुन्छ। कहिले भीडभाड हुन्छ, कहिले कम सेवाग्राही आउँछन्। यस्तो अवस्थामा पनि सेवाग्राहीलाई समयमै र गुणस्तरीय सेवा दिनु हाम्रो जिम्मेवारी हो। त्यसैबाट प्रेरित भएर हामीले सिसिटिभि क्यामरा र इलेक्ट्रोनिक हाजिरीको व्यवस्था गरेका हौँ। सम्भवत शिखर नगरपालिकामा हाम्रो वडा नै पहिलो हुनेछ जसले यस किसिमको प्रविधि प्रयोगमा ल्याएको छ।’
अध्यक्ष भट्टले यो प्रणालीले कर्मचारीहरूको नियमित उपस्थितिलाई सुनिश्चित गर्ने मात्र नभई कामकाजमा ढिलाइ घटाउने र सेवाग्राहीलाई सहज अनुभव दिने बताएका छन्।
वडाको यो पहलले स्थानीय सरकारको कामकाजमा आधुनिक प्रविधि प्रयोग गरी पारदर्शिता र सेवाग्राहीमैत्री वातावरण सिर्जना गर्ने अपेक्षा गरीएको छ । वडा नम्बर ७ को यो पहलले शिखर नगरपालिकामा अन्य वडाका लागि उदाहरण कायम गर्ने विश्वास गरिएको छ।













