बजारमा निरन्तर गिरावटः छटपटीमा लगानीकर्ता, लगानी डुब्दै जाँदा के होला अबको यात्रा ?

काठमाडौँ । पुँजी बजारमा गिरावटको लहर आज पनि रोकिएको छैन । विगत केही दिन यता लगातारको घटबढले लगानीकर्ताको करोडौं रुपैयाँ लगानी जोखिममा परेको छ । केही समयअघि ३,००० बिन्दु नाघेको बजारले ३,२०० पाउने आशा जगाएको थियो, तर हाल शेयर मूल्य घटेर लगानीकर्तालाई ठूलो घाटामा पुर्याइरहेको छ ।
माफियाको प्रभाव र उच्च मूल्यमा खरिद गर्ने प्रवृत्तिले बजारमा अस्थिरता बढाएको छ । जारी मौद्रिक नीतिले केही समय बजारमा सकारात्मक संकेत दिएको थियो र लगानीकर्तामा उत्साह देखिएको थियो । तर पछिल्ला हप्तामा बजार सूचक निरन्तर घट्दै गएका कारण लगानीकर्ताको मनोबल कमजोर भएको छ । विश्लेषकहरु भन्छन्, यस्ता अवस्थामा बजारले छोटो समयका लागि स्थिरता देखाउन सक्दैन र अझै सुधारका लागि समय लाग्नेछ ।
यसैबीच, चालु आर्थिक वर्षको बैंक तथा वित्तीय संस्थाहरुको वार्षिक वित्तीय विवरण सार्वजनिक भईरहेको छ। अधिकांश रिपोर्टले सकारात्मक वित्तीय स्वास्थ्य देखाएका छन् र लाभांश वितरण क्षमता पनि सुधारिएको छ। तर, यी सकारात्मक संकेतले हालको बजारमा खासै असर पारेको छैन ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.२८ अकंले घटेर २७९०.९५ बिन्दुमा कायम भएको छ । आज ३२१ कम्पनीको १ करोड ५८ लाख ४७ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १६ करोड १८ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन ६ उपसूचकमा हरियाली देखिएपनि ७ उपसूचक भने राताम्य भएका छन् । आज वाणिज्य बैंक समूहको ०.५९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६२ प्रतिशत, हाइडोपावर समूहको ०.२१ प्रतिशतले घटेको छ ।

बुधबार ८९ कम्पनीको शेयर मूल्य बढेको छ भने १५९ कम्पनीको घटेको हो ।












