एमएडब्लु ल्याउँदै दिपल एस ०५: अत्याधुनिक प्रविधिसहितको नयाँ इलेक्ट्रिक एसयूभी

काठमाडौँ । एमएडब्लु वृद्धिले यसै साताभित्र नेपाली बजारमा नयाँ विलासी इलेक्ट्रिक एसयूभी ‘दिपल एस ०५’ सार्वजनिक गर्ने भएको छ। कम्पनीका अनुसार यो मोडेल दिपल एस ०७ को सफलतापछि ल्याइँदैछ र कम्प्याक्ट एसयूभी सेग्मेन्टमा अझ परिष्कृत र आधुनिक विकल्पका रूपमा प्रस्तुत हुनेछ।
अन्तर्राष्ट्रिय स्तरमा डिजाइनको क्षेत्रमा प्रतिष्ठित आईएफ अवार्ड प्राप्त यस गाडीलाई आकर्षक एरोडाइनामिक बनावट, फ्रेमविहीन ढोका र स्टार–फिडर शैलीका एईडी टेललाइटले विशेष पहिचान दिएको कम्पनीको भनाइ छ।
भित्रको भागमा नेपालमै पहिलो पटक ‘जिरो ग्राभिटी’ आराम सुविधा, भेन्टिलेसन, लेग सपोर्ट, मेमोरी फंक्शन र एकै बटनमा सक्रिय हुने न्याप मोडसहितको ‘क्विन को–पाइलट’ सिट जडान गरिएको छ। दुवै सिट स्वागत शैलीमा डिजाइन गरिएका छन् भने १६० लिटर क्षमताको अगाडिको स्टोरेज (फ्रंक) उपलब्ध छ। साथै, १४ स्पिकरको सराउन्ड साउन्ड सिस्टम, उत्कृष्ट इन्टेरियर क्राफ्टम्यानसिप र आउटडोर–फ्रेंड्ली विशेषता पनि समावेश गरिएको छ।
यसमा सेग्मेन्टमै पहिलो पटक ‘रिमोट इन एन्ड आउट पार्किङ’ सुविधा दिइएको छ, जसले साँघुरा पार्किङ स्थानमा सहज अटाउने क्षमता प्रदान गर्छ। १९ वटा सुरक्षा प्रविधीसहितको ‘एड्भान्स ड्राइभर असिस्ट्यान्स सिस्टम २.०’ ले ड्राइभिङलाई थप विश्वासिलो र सहज बनाउने कम्पनीको दाबी छ।
साथै, ‘अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले’ मार्फत नेभिगेसन, ट्राफिक संकेत, गति लगायतका आवश्यक जानकारी सिधै विन्डशिल्डमा प्रोजेक्ट हुने व्यवस्था गरिएको छ।
शक्ति स्रोतका रूपमा विश्वकै अग्रणी ब्याट्री निर्माता सीएटीएलको ‘गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.०’ जडान गरिएको छ, जसको जीवन अवधि ६ लाख किलोमिटर रहने बताइएको छ।
यो ब्याट्री १५ मिनेटमै ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिनेछ र चिसो मौसममा पनि उच्च प्रदर्शन गर्न सक्षम छ।













