दरमखोला हाइड्रोको आईपीओ आज बाँडफाँट हुँदै, कति जना हुन्छन् मालामाल ?

२९ श्रावण २०८२, बिहीबार ०८:५३

काठमाडौं । दरमखोला हाइड्रो इनर्जीको आईपीओ बाँडफाँटको आज हुँदैछ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार आज अर्थात् साउन २९ गते बिहान १० बजे आईपीओ बाँडफाँटको तयारी गरिएको हो ।

कम्पनीको आईपीओमा २ लाख ४२ हजार ३१८ जनाले १०र१० कित्ताका दरले शेयर हात पार्नेछन् । जसमा सोहि मध्यका ५ जनाले भने थप १ कित्ता गरी ११ कित्ता शेयर हात पार्नेछन् ।

अन्तिम दिनसम्म कम्पनीको आइपीओमा २३ लाख ७२ हजार ९२६ जनाले कुल २ अर्ब ८२ करोड ५२ लाख १५ हजार रुपैयाँ बराबरको २ करोड ८२ लाख ५२ हजार १५० कित्ताका लागि आवेदन दिएका छन् । जुन यो मागभन्दा साढे ११ गुणा बढी हो । आवेदकमध्ये २१ लाख ३० हजार भन्दा बढीको हात खाली हुने निश्चित भएको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ३९ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।जसमध्ये पहिलो चरणमा आयोजना प्रभावितलाई १० लाख ३० हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख ९१ हजार १५० कित्ता आईपीओ बिक्री गरिसकेको छ ।

बाँकी शेयरमध्ये १ लाख ४५ हजार ९७५ कित्ता आईपीओ सामूहिक लगानी कोषलाई र ५८ हजार ३९० कित्ता आईपीओ कम्पनीमा कार्यरत कर्मचारीलाई सुरक्षित गरी बाँकी २४ लाख २३ हजार १८५ कित्ता आईपीओ आम सर्वसाधारणमा निष्कासन गर्न लागेको थियो ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आइआरएन डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*