माबिलुङ्ग इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अर्थात् साउन २९ गते अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्यका कुल १८ लाख ९० हजार ५३० कित्ता आईपीओ निष्कासन गर्न गत असार १ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।
जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ३ लाख ८५ हजार ८२४ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ५० हजार ४७१ कित्ता आईपीओ निष्कासन गरी बाँडफाँड समेत गरिसकेको छ।
कम्पनीले अब बाँकी १३ लाख ५४ हजार २३५ कित्तामध्ये सामूहिक लगानी कोषका लागि ७५ हजार २३६ कित्ता र कम्पनीमा कार्यरत कर्मचारीका लागि ३० हजार ९५ कित्ता सुरक्षित गरी बाँकी रहेको १२ लाख ४८ हजार ९०४ कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको हो।
यो आईपीओमा आवेदन दिंदा कम्तीमा १० कित्ताका लागि र बढीमा ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
यस कम्पनीको आईपीओलाई रेटिङ गर्ने संस्था ईक्रा नेपाल लिमिटेडले ‘ईक्राएनपी–आईआर बी प्लस’ रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले गर्नेछ।












