पुँजी बजारमा झिनो सुधारः शेयर बेचेर बाहिरिँदै लगानीकर्ता, के अझै गिरावट हुन्छ ?

काठमाडौँ । निरन्तर राताम्य बन्दै आएको शेयर बजारमा आज भने सामान्य सुधार देखिएको छ । नेप्से सूचक सानो अंकले बढे पनि लगानीकर्तामा उत्साह भने देखिएन । पछिल्ला दिनमा लगातारको घटबढले बजारको मनोबल कमजोर बनाउँदै लगानीकर्ताको करोडौं रुपैयाँ जोखिममा परेको छ । केही समयअघि ३,००० बिन्दु नाघेको बजारले ३,२०० पुग्ने आशा जगाएको भए पनि हालको मूल्य गिरावटले लगानीकर्तालाई घाटा भोग्न बाध्य बनाएको छ ।
यसबीच, बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको वार्षिक वित्तीय विवरण धमाधम सार्वजनिक गरिरहेका छन् । अधिकांश संस्थाहरुको वित्तीय स्वास्थ्य सुदृढ देखिएको छ भने लाभांश वितरण क्षमतामा पनि सुधार आएको छ । सकारात्मक रिपोर्टका बाबजुद हालको बजारमा यसको तत्कालीन प्रभाव देखिएको छैन ।
माफियाको प्रभाव, उच्च मूल्यमा खरिद गर्ने प्रवृत्ति र पछिल्ला हप्ताको निरन्तर गिरावटले बजारमा अस्थिरता बढाएको छ । नीतिहरुले केही समयका लागि सकारात्मक संकेत दिए पनि बजारले छोटो अवधिमा स्थिरता पाउने सम्भावना कम रहेको देखिन्छ । जस कारण लगानीकर्तामा लगानी वातावरण सिर्जना भइसकेको छैन ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.१२ अकंले बढेर २७८९.८७ बिन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको १ करोड ९२ लाख ५८ हजार कित्ता शेयर किनेबच हुँदा ७ अर्ब ४६ करोड ४१ लाख ७७ हजार रुपैयाँको कारोबार भएको हो ।
यसदिन आठ उपसूचकमा हरियाली आएको छ भने ५ उपसूचकमा राताम्य भएको छ । आज वाणिज्य बैंक समूहको ०.६१ प्रतिशत, फाइनान्स समूहको ०.५५ प्रतिशतले शेयर मूल्य घटेको छ ।
बिहिबार १०८ कम्पनीको शेयर मूल्य बढेको छ भने १४१ कम्पनीको घटेको छ ।
आज पुनर्बीमा कम्पनीको सर्वाधिक ४७ करोड १७ लाख १३ हजार रुपैयाँको कारोबार भएको छ भने नेपाल रिपब्लीक मिडियाको शेयरमा सर्किट लागेको छ ।












