वित्तीय रुपमा बलियो बन्दै आइएमई लाइफ, बीमा कोष सञ्चिती १३ अर्बबढी, बीमा शुल्कसहित प्रमुख सूचांकमा लोभलाग्दो ग्रोथ

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । जस अनुसार कम्पनीले जीवन बीमा कोषको आकार बढेर १३ अर्ब पुर्याउन सफल भएको छ । कम्पनीको मुनाफासहितका सबै वित्तीय सूचांकमा प्रगति भएको देखिएको छ ।
समीक्षा अवधीको अघिल्लो आवको यसै अवधीमा नौ अर्ब १६ करोड जीवन बीमा कोष बनाएको कम्पनीले यस आवमा १३ अर्ब १० करोड रुपैयाँको शक्तिशाली जीवन बीमा कोष बनाउन सफल भएको छ । अघिल्लो आवको तुलनामा कम्पनीको यस्तो कोषको आकार ४२.९७ प्रतिशतले बृद्धि भएको छ । जीवन बीमा कम्पनीहरुका लागि सबैभन्दा महत्वपूर्ण जीवन बीमा कोष हुनेछ गर्दछ ।
त्यस्तै कम्पनीले जगेडा कोषमा ६५ करोड ५४ लाख रुपैयाँ संचिती गरेको छ । महाविपत्ती कोषमा २५ करोड ५३ लाख रुपैयाँ, सञ्चिती गरेको छ । कम्पनीको यस्तो कोषको दायरा ३२.१४ प्रतिशतले बृद्धि भएको छ ।

कम्पनीले यस अवधीमा पाँच अर्ब ६ करोड ४९ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गर्न सफल भएको छ । अघिल्लो आवमा यस्तो बीमा शुल्क रकम चार अर्ब १ करोड ३९ लाख रुपैयाँ संकलन गरेको थियो । कम्पनीको समग्र बीमा व्यवसाय २१.२१ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।
समीक्षा अवधिमा कम्पनीको कुल आम्दानीको दायरा पनि बृद्धि भएको छ । यस अवधिमा कम्पनीको कुल आम्दानी २० प्रतिशतले बढेर सात अर्ब १८ करोड ७६ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको कुल आम्दानी पाँच अर्ब ९८ करोड ५५ लाख रुपैयाँ रहेको थियो । जसको कारण कम्पनीको समग्र सूचांकमा प्रगति गर्न सफल सफल भएको छ ।
आइएमई लाइफको मुनाफा ५.५४ प्रतिशतले घटेर ५८ करोड ३३ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा यस्तो मुनाफा ६१ करोड ७४ लाख रुपैयाँ रहेको थियो । यससँगै कम्पनीको प्रतिशेयर आम्दानी ११.६७ रुपैयाँ रहेको छ ।
समीक्षा अवधीमा आइएमई लाइफले आफ्ना अभिकर्तालाई ५७ करोड ७३ लाख रुपैयाँ कमिशन बापत वितरण गरेको छ । कम्पनीको उक्त कमीशन अघिल्लो आवको तुलनामा १४ प्रतिशतले बृद्धि भएको छ । आइएमई लाइफमा हालसम्म कायम रहेको बीमा पोलिसी संख्या चार लाख ७४ हजार वटा रहेको छ ।













