कामना सेवा विकास बैंकको नाफा साढे ६३ करोडः अधिकांश सूचकमा लोभलाग्दो ग्रोथ

काठमाडौँ । कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८१।०८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीका अधिकांश सूचक सुधार देखिएको हो ।
गत आर्थिक वर्षको अवधिमा कम्पनीको मुनाफा ९.१९ प्रतिशतले बढेर ६३ करोड ५२ लाख ९७ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा ५८ करोड १८ लाख ३१ हजार रुपैयाँ रहेको थियो ।
अघिल्लो आर्थिक वर्षमा २ अर्ब १३ करोड २५ लाख रुपैयाँ खुद ब्याज आम्दानी रहेको बैंकको गत आर्थिक वर्षमा बढेर २ अर्ब २४ करोड ४४ लाख रुपैयाँ पुगेको हो ।
यता, बैंकको सञ्चालन नाफा १.९७ प्रतिशतले बढेर ९८ करोड ६९ लाख ८६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको सञ्चालन नाफा ९६ करोड ७८ लाख रुपैयाँ रहेको थियो ।
बैंकको खराब कर्जा ३.३६ प्रतिशत रहेकोमा हाल ३.३८ प्रतिशत रहेको छ ।
बैंकको वितरणयोग्य नाफा कर्जा ४१ करोड १२ लाख रुपैयाँबाट बढेर ६० करोड ७४ लाख १ हजार रुपैयाँ पुगेको छ । जस आधारमा बैंकको लाभांश क्षमता १७.३० प्रतिशत रहेको छ ।
समिक्षा अवधिमा बैंकको चुक्तापूँजी ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ७८ करोड रुपैयाँ सञ्चिति रहेको छ ।
चौथो त्रैमाससम्मको अवधिमा बैंकको प्रतिशेयर आम्दानी १८.१० रुपैयाँ र प्रतिशेयर नेटवर्थ १६८.१३ रुपैयाँ रहेको छ ।












