हिमालयन एभरेष्टको वित्तीय विवरणमा प्रगतिः नाफा र ईपीएस बढ्यो, आम्दानीमा उच्च वृद्धि

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत आवको चौथौ त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। जस अनुसार कम्पनीको आम्दानीमा उच्च वृद्धि हुँदा नाफासँगै ईपीएस पनि बढेको छ।
कम्पनीले अघिल्लो आवको असार मसान्तसम्म ५० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत आवको असार मसान्तसम्म ५.९५ प्रतिशतको वृद्धि सहित ५३ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
त्यसैगरी अघिल्लो वर्ष कम्पनीले १ अर्ब २८ करोड रुपैयाँ खुद बीमाशुल्क कमाएकोमा गत वर्ष ५७.८८ प्रतिशतको उच्च वृद्धि सहित २ अर्ब २ करोड रुपैयाँ नाघेको छ।
यता बीमाकोषको आकार पनि अघिल्लो वर्ष ३ अर्ब ९९ करोड रुपैयाँ रहेकोमा गत वर्ष ८.३७ प्रतिशतको वृद्धि सहित ४ अर्ब ३३ करोड रुपैयाँको बीमाकोष कायम भएको छ।

त्यसैगरी अघिल्लो वर्ष आफ्ना बीमितमाथि परेको क्षतिबापत १ अर्ब ४७ करोड रुपैयाँ कुल दाबी भुक्तानी दिएको कम्पनीले गत वर्ष दाबी भुक्तानी दर २८.५८ प्रतिशत वृद्धि गर्दै १ अर्ब ८९ करोड रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ।
त्यसैगरी कम्पनीको कुल आम्दानी गत वर्ष साढे २ अर्ब रुपैयाँबाट बढेर २ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ भने कुल खर्च पनि १ अर्ब ६२ करोड रुपैयाँबाट बढेर १ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। कम्पनीले बीमितलाई अघिल्लो वर्ष ६ करोड ८७ लाख रुपैयाँ कमिशन बाँडेकोमा गत वर्ष ६ करोड ५२ लाख रुपैयाँ कमिसन बाँडेको छ।
प्रतिशेयर आम्दानी (ईपीएस) २०.१० रुपैयाँबाट बढेर २१.२९ रुपैयाँ पुगेको कम्पनीको प्रतिशेयर नेटवर्थ २१०.३४ रुपैयाँ रहेको छ। चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा ८ करोड ३२ लाख रुपैयाँ, जगेडा कोषमा ३३ करोड ३५ लाख रुपैयाँ रहेको छ।













