अत्याधुनिक फिचरसहितको नयाँ इलेक्ट्रिक एसयूभी ‘दीपल एस ०५’ नेपालमा, कति पर्छ मूल्य ?

काठमाडौँ । नेपालका लागि चांगान अटोमोबाइलको आधिकारिक वितरक एमएडब्लु ग्रुपले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी ‘दीपल एस-०५’ नेपाली बजारमा भव्य समारोहका बीच सार्वजनिक गरेको छ। दीपल एस-०७ को सफलतापछि प्रस्तुत गरिएको यो नयाँ मोडलले देशको ईभी बजारमा नयाँ प्रतिस्पर्धा सिर्जना गर्ने अपेक्षा गरिएको छ।
काठमाडौंमा आयोजित सार्वजनिक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छेन सोङ, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकारिया, चंगान अटो साउथइस्ट एसियाका प्रबन्ध निर्देशक झाङ जियानहुआ लगायतको उपस्थिति थियो। दीपलका ब्रान्ड एम्बासडर तथा पूर्व क्रिकेटर पारस खड्का पनि कार्यक्रममा सहभागी थिए।
कार्यक्रममा बोल्दै एमएडब्लु वृद्धिका अध्यक्ष अग्रवालले ६० वर्षभन्दा बढी समयदेखि नेपाली बजारमा विश्वास कायम राख्दै आएको एमएडब्लुको इतिहास र चंगानको १६३ वर्षको गौरवशाली यात्राले दुवै पक्षबीचको सहकार्यलाई मजबुत बनाएको बताए। उनले नेपालको ९० प्रतिशतभन्दा बढी विद्युत् स्वच्छ जलविद्युत् स्रोतबाट उत्पादन हुने भएकाले ईभी प्रयोग उपभोक्ता र वातावरण दुवैका लागि लाभदायक हुनेमा जोड दिए।

एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले दीपल एस-०५ का विशेषताहरूबारे विस्तृत जानकारी प्रस्तुत गरे। यसमा ‘क्वीन को-पाइलट प्यासेन्जर सिट’ र ‘वेलकम सिट’ सुविधा, साँघुरो ठाउँमा बाहिरैबाट गाडी पार्किङ गर्न मिल्ने ‘रिमोट इन एन्ड आउट पार्किङ’ प्रणाली, र चालकको आँखामै गाडीको गति र नेभिगेसन देखाउने ‘हेड-अप डिस्प्ले’ जस्ता अत्याधुनिक फिचरहरू समावेश छन्।
यसमा गाडी बाहिर रहेका व्यक्तिसँग भित्रैबाट संवाद गर्न मिल्ने सुविधा, १८ वटा उच्च गुणस्तरका स्पिकर, स्पोटिफाई र युट्युब जस्ता एप चलाउन मिल्ने कनेक्टेड फिचरहरू र एडीएएस २.० प्रणाली अन्तर्गत १९ वटा उन्नत सुरक्षा फिचर छन्, जुन यो सेग्मेन्टमा सबैभन्दा बढी हो।
गाडीमा सीएटीएलको ‘गोल्डेन सिल्ड ब्याट्री सिस्टम २.०’ प्रयोग गरिएको छ, जसको आयु ५,००० साइकलसम्म हुने दाबी गरिएको छ। यो रियर-ह्विल ड्राइभ गाडी १५ मिनेटमै फास्ट चार्ज गर्न सकिने क्षमता राख्छ। यसको स्लिक र फ्रेमलेस डिजाइनले २०२५ को ‘आईएफ डिजाइन अवार्ड’ जितिसकेको छ।
कम्पनीले दीपल एस-०५ दुई भेरियन्टमा बजारमा ल्याएको छ। लाइट भेरियन्टको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ र म्याक्स भेरियन्टको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
कार्यक्रमका प्रमुख अतिथि चिनियाँ राजदूत छेन सोङले सफल लन्चको लागि चंगान र एमएडब्लु ग्रुपलाई बधाई दिँदै चिनियाँ ईभी प्रविधि विश्वमै अग्रणी भएको बताए।













