वाणिज्य बैंकहरुको लाभांशः ११ वटाले दोहोरो अकंमा प्रतिफल दिन सक्ने, कुनको क्षमता कति ?

काठमाडौं । अधिकांश वाणिज्य बैैंकहरु गत आर्थिक वर्ष २०८१।०८२ को नाफाबाट शेयरधनीलाई लाभांश दिन सक्ने देखिएका छन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमा ४ वटा बाहेकका बैंकले शेयरधनीलाई लाभांश दिन सक्ने अवस्थामा पुगेका हुन् ।
सर्वाधिक लाभांश दिन सक्नेमा एभरेष्ट बैंक पहिलो स्थानमा रहेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ३८.२७ प्रतिशत लाभांश दिन सक्नेछ ।

सबैभन्दा धेरै लाभांश दिन सक्ने दोस्रो नम्बरमा सानिमा बैंक देखिएको छ । बैंकले आफ्ना शेयरधनीहरुलाई २०.४७ प्रतिशत लाभांश दिन सक्नेछ ।
त्यस्तै, स्टान्र्डड चार्टड बैंकले १९.८५ प्रतिशत र कृषि विकास बैंकले १५.२४ प्रतिशतले लाभांश दिन सक्ने देखिएको छ ।
वाणिज्य बैंकहरुमा सर्वाधिक नाफा आर्जन गर्ने नबिल बैंकको लाभांश क्षमता १७.६४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष कम्पनीको लाभांश ११.३९ प्रतिशत रहेको थियो ।
यता, प्राइम बैंकले १४.३३ प्रतिशत, ग्लोबल आइएमई बैंकले १४.११ प्रतिशत, सिद्धार्थ बैंकले १४.११ प्रतिशत, लक्ष्मी सनराइज बैंकले १३.२२ प्रतिशत, नेपाल एसबिआई बैंकले ११.२९ प्रतिशत र एनएमबि बैंकले १०.४१ प्रतिशत लाभांश दिन सक्नेछन् ।
गत आर्थिक वर्षको मुनाफाबाट माछापुच्छ्रे बैंकले ९.२३ प्रतिशत, सिटिजन्स बैंकले ५.२५ प्रतिशत, प्रभु बैंकले ४.४४ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले १.९४ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १.४४ प्रतिशत लाभांश दिन सक्नेछन् ।
नेपाल बैंक, कुमारी बैंक, हिमालयन बैंक र एनआईसी एशिया बैंक भने शेयरधनीहरुलाई लाभांश दिन नसक्ने अवस्थामा रहेका छन् ।














