अर्थतन्त्र कमजोर हुनुको प्रमुख कारण विचौलियाहरूको विरोध होः अर्थविद् न्यौपाने

१ भाद्र २०८२, आईतवार १२:५५

काठमाडौं । अर्थविद् प्रा.डा.गोपीलाल न्यौपानेले नेपालको अर्थतन्त्र कमजोर हुनुमा, नेपालमा गरिबी बढ्नुमा, नेपालमा बेरोजगारी बढ्नुमा केही आधारभूत बुझाइहरू गलत रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले विचौलियाहरुलाई गाली गरेर र घृणा फैलाएर मात्रै देशको उन्नति र प्रगति हुन नसक्ने बताएका हुन् । उनले विचौलियाविहीन देश र समाज हुनै नसक्ने दाबी गरे ।

‘नेपालमा हामीले ‘मिडल म्यान’ को एकदमै विरोध गर्यौं । ठूला–ठूला नेताहरुले प्रधानमन्त्रीको बेडमै विचौलिया पुग्छ भने । म आग्रह गर्न चाहन्छु– विचौलियाविना विजनेश चल्दै चल्दैन । एउटा मलाई देश देखाइदिनुस्, जहाँ विचौलिया नहोस् । विचौलियाले नै हो कारोबारलाई सजिलो पार्दिने । जस्तै भाटभटेनी सुपरमार्केट विचौलिया हो । यसले उत्पादकबाट सामान किनेर ल्याउँछ, नेपालका उपभोक्तालाई बेच्छ । त्यसैले त्यो विचौलिया हो । उसले कमिशन र प्रोफिटको लागि काम गर्छ । मेरो आग्रह छ– विचौलियालाई घृणा गर्ने होइन । उसलाई आफ्नो हैसियतमा राख्ने हो । विचौलिया नराम्रो हो र ?’ प्रश्न गर्दै उनले भने ।

साथै पुँजीवादको विरोधले पनि देश विकास हुन नसकेको उनको भनाइ छ । एकातिर पुँजीवादलाई खतम गर्नुपर्छ भनेर अर्कोतिर उद्योग खुलेन, रोजगारी भएन, मान्छे विदेशिए भनेर प्रचार भइरहेको उनले बताए । पुँजीवाद नभइ देश औद्योगीकरण र आधुनिकीकरण नहुने उनको भनाइ छ । समाजवादको खोल ओढेर जनतालाई गरिबको गरिब राख्ने प्रपञ्च भइरहेको उनको भनाइ छ ।

नेपाली समाज नै भ्रष्ट समाज हो, यहाँ भ्रष्टाचार नगरी जीविकोपार्जन हुँदैनः प्रा.डा.केसी

राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले भ्रष्टाचार नगरी नेपाली समाजलाई जीविकोपार्जन गर्न नपुग्ने बताएका छन् । हिजो (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले खरिदार, पियनलगायतका कर्मचारीलाई भ्रष्टाचार नगरी जीवन यापन गर्नका लागि मुस्किल रहेको बताएका हुन् ।

‘नेपाली समाज भ्रष्ट हो । भ्रष्टाचार नगरी यहाँ कसैको पनि जीविकोपार्जन हुन्छ भन्ने मलाई लाग्दैन । त्रिभुवन विश्वविद्यालयको सबैभन्दा धेरै तलब खाने प्रोफेसर मै हुँ । त्यसको तलब हुन्छ ५५ हजार । सञ्चयकोष इत्यादि काटिँदाखेरी ४७ हजार बाँकी रहन्छ । यहाँ खरिदार, पियनले जीवन यापन गर्नुपर्ने छ । राजनीतिमा जाँदा नेताहरुले कार्यकर्ता पाल्नुपरेको छ । अनि भ्रष्टाचार नगरी कसरी चल्छ त हाम्रो देशमा ?’ प्रश्न गर्दै उनले भने ।

साथै उनले राष्ट्रिय सभा भङ्ग गरिनुपर्ने र प्रतिनिधिसभाको संख्या घटाइनुपर्ने बताए । त्यसपछि प्रादेशिक संरचनालाई स्थगन गराएर स्थानीय संरचनालाई शक्तिशाली बनाइनुपर्ने उनले बताए । उनले संघीय व्यवस्था दलका कार्यकर्ता र आसेपासेहरुलाई भरण पोषण गर्नका लागि ल्याइएको रहेछ भन्ने कुरा प्रष्ट भएको बताए ।

त्यस्तै श्रीकृष्ण जन्मअष्टमीको सन्दर्भमा उनले देशमा धर्मनिरपेक्षता सुरु भएदेखि धर्मप्रतिको आकर्षण बढिरहेको बताए । ‘हामी धर्मनिरपेक्षतामा गएका वर्षहरु जति–जति व्यतित गर्दैछौं, मान्छेको धर्मप्रतिको आकर्षण त्यति नै बढेर गएको देख्छु । एकतिर धर्मनिरपेक्षताको कुरा छ, धर्मबाट टाढा भनिएको छ अर्कातिर मान्छेको धर्मप्रतिको आशक्ति चाहिँ बढेर गइराखेको छ । धर्म एउटा जीवन्त पक्ष हो । यसबाट टाढा मान्छे जान सक्दैन भन्ने कुराको निष्कर्ष निकाल्न सकिन्छ,’ उनले भने ।

रास्वपाको पक्षमा चुनावी माहोल बढ्ने देखेपछि सरकारले रवि लामिछानेको जेल सरुवा गर्योः अधिवक्ता नेपाल

अधिवक्ता स्वागत नेपालले भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्ने कानून बनाइनुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार अन्त्यको अन्तिम विकल्प भनेको मृत्युदण्ड नै रहेको बताएका हुन् ।

उनले पूर्वीय दर्शनले मृत्युदण्डलाई स्वीकार गर्ने बताए । तत्कालीन समयमा मनुस्मृतिले बलात्कारीको लिङ्ग काट्नुपर्ने व्यवस्था गरेको स्मरण गराउँदै उनले भ्रष्टाचारको अन्त्यका लागि एउटामात्रै विकल्प मृत्युदण्ड रहेको दाबी गरेका हुन् । ‘भ्रष्टाचारको सन्दर्भमा पूर्वीय दर्शनले मृत्युदण्ड दिन्छ । मृत्युदण्ड नमान्ने हिन्दु हुँदैन । हिन्दुले मृत्युदण्ड दिन्छ, हाम्रो दर्शन दण्डको हो ।

विश्वको सबैभन्दा पहिलो संविधान यो भूमिमा बनेको थियो । मनुस्मृति । मनुस्मृतिले भन्छ–बलात्कार गर्नेहरुको लिङ्ग काटिदिनुपर्छ । भ्रष्टाचार गर्नेको एउटामात्रै अन्तिम कानूनी व्यवस्था मृत्युदण्ड नै हो । त्यो बाहेक अरु हुन सक्दैन । त्यसपछि देखिन्छ अन्त्य हुन्छ कि हुँदैन ?’ प्रश्न गर्दै उनले भने ।

साथै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा आउँछु, आउँछु भनेपछि बल्ल–बल्ल निमन्त्रणा पाएको बताए । भारतमा १० वर्षको अवधिमा दुई जना प्रधानमन्त्री हुँदा नेपालमा भने ११ जना पुगेको उनले बताए । अहिले देशका परराष्ट्र नीति सही नरहेको पनि उनको भनाइ छ ।

‘भारतमा १० वर्षमा दुई जनामात्रै प्रधानमन्त्री हुँदा नेपालमा ११ जना प्रधानमन्त्री भएछन् । अनि नेपालका प्रधानमन्त्री यस्ता सस्ताहरुलाई जहिले पनि जहिले पनि रातो कार्पेट ओच्छ्याएर स्वागत गर्न फुर्सद हुन्छ त उनीहरुको ? धन्न–धन्न आउँछु, आउँछु भनेपछि जान खोज्दैछन् । यसको अर्थ केही पनि छैन । कुनै अर्थ छैन । नेपालको परराष्ट्र नीति पृथ्वीनारायण शाह कालको दुई ढुङ्गाबीचको तरुल । अहिले दुई ढुङ्गाबीचको तरुल होइन, दुई तरुणबीचको ढुङ्गा भएको छ । हामी ढुङ्गाजस्तो बनेका छौं,’– उनले भने ।

त्यस्तै सहकारी ठगी र संगठित अपराध मुद्दाको पुर्पक्षका लागि रूपन्देही कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको जेल सरुवालाई उनले अगामी कात्तिक १७ मा रुपन्देही–३ मा हुन गइरहेको प्रतिनिधिसभाको उपनिर्वाचनको प्रभावको रुपमा लिएर भएको बताए। लामिछानेलाई कुनै दया मायाले जेल सारिएको नभइ उनलाई त्यहाँ राखिराखे रास्वपाको भोट बढ्ने खतरालाई मध्यनजर गरेर यस्तो नीति अपनाइरहेको उनको दाबी छ ।

‘रूपन्देहीमा उहाँलाई त्यही जेलमा राखिरहँदा भेट्न जाने, आउने चहल/पहल बढ्छ र रास्वपाको माहोल बढ्छ भनेर त्यहाँबाट हटाइहाल्नु परेको छ सरकारलाई । काठमाडौंतिर ल्याउनु परेको छ । कारण यतिमात्रै हो । सिगान पुछिदिएजस्तो गरेर नाक काटिदिएजस्तो मात्रै हो । त्यहाँ उहाँ रहिरहनुभयो भने रास्वपाको चुनावको माहोल बढ्छ भनेर मात्रै त्यहाँबाट हटाइएको हो कुनै दया मायाले होइन,’ उनले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*