फाइनान्सको वित्तीय रिपोर्ट: ८६ करोड नाफा आर्जन, धरापमा जानकी र गोर्खाज, खराब कर्जाको अवस्था कस्तो?

१ भाद्र २०८२, आईतवार १३:३१

काठमाडौँ । वर्ष दिनमा फाइनान्स कम्पनीले झन्डै साढे ८६ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । हाल सञ्चालित १५ फाइनान्सहरूले गत आर्थिक वर्ष २०८१/०८२ मा ८६ करोड ४४ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा भने फाइनान्स कम्पनीहरूको नाफा ९ करोड ३४ लाख ३२ हजार रुपैयाँ ऋणात्मक रहेको थियो ।

खराब कर्जाको चपेटामा परेका फाइनान्स कम्पनी बिस्तारै लयमा फर्की रहेको देखिएको छ । अधिकांश फाइनान्सको खराब कर्जा घट्दै जाँदा नाफा समेत सुधार तिर लम्की रहेको हो ।

यस अवधिमा सर्वाधिक नाफा आर्जन गर्नेमा आइसिएफसि फाइनान्स रहेको छ । फाइनान्सको नाफा २०४ प्रतिशतले बढेर ३४ करोड ४९ लाख ४३ हजार रुपैयाँ पुगेको हो । अघिल्लो आर्थिक वर्षमा भने फाइनान्सको नाफा ११ करोड ३२ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा मञ्जुश्री फाइनान्सको नाफा ३९.९६ प्रतिशतले बढेर ३१ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो आर्थिक वर्ष १० करोड ६४ लाख रुपैयाँ ऋणात्मक रहेको पोखरा फाइनान्सको नाफा गत आर्थिक वर्षमा भने ११ करोड ३९ लाख ८ हजार रुपैयाँ पुगेको छ ।

यता, प्रोगेसिभ फाइनान्सको नाफा ४.२१ प्रतिशतले घटेर ११ करोड १९ लाख, ३४ करोड १३ लाख ऋणात्मक रहेको सेन्ट्रल फाइनान्सको नाफा ८ करोड ९१ लाख घनात्मक, श्रीइन्भेष्टमेन्ट फाइनान्सको १३.४१ प्रतिशतले बढेर ६ करोड ९९ लाख, रिलायन्स फाइनान्सको ०.२२ प्रतिशतले बढेर ४ करोड २७ लाख रुपैयाँ पुगेको छ ।

साथै, अघिल्लो आर्थिक वर्ष १३ करोड ६१ लाख रुपैयाँ ऋणात्मक रहेको समृद्धि फाइनान्सको नाफा ३ करोड १९ लाख, ३७ लाख ९८ हजार ऋणात्मक रहेको गुह्येश्वरी मर्चेन्टको नाफा २ करोड ७९ लाख रुपैयाँ रहेको छ ।

मल्टीप्रपोज फाइनान्सको नाफा १२२ प्रतिशतले बढेर २ करोड ३३ लाख रहेको छ । २ करोड ८१ लाख रुपैयाँ ऋणात्मक रहेको नेपाल फाइनान्सको नाफा २ करोड १७ लाख रुपैयाँ रहेको छ । गुडबिल फाइनान्सको ५१ लाख १९ हजार र बेष्ट फाइनान्सको २० लाख ७७ हजार रुपैयाँ नाफा रहेको छ ।

गोर्खाज फाइनान्सको नाफा १२ करोड ७३ लाख रुपैयाँ र जानकी फाइनान्स २० करोड ७२ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

खराब कर्जाका दलदलमा जानकी, गोर्खाज र पोखरा फाइनान्स

जानकी फाइनान्स खराब कर्जाका दलदलमा फस्दै गएको देखिएको छ । गत आर्थिक वर्षमा कम्पनीको खराब कर्जा ४८.६१ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खराब कर्जा ३७.१३ प्रतिशत रहेको थियो ।

वर्ष दिनमा जानकी फाइनान्सको खराब कर्जा ११.४८ प्रतिशतले बढेको छ । कम्पनीलाई नियामक निकाय नेपाल राष्ट्र बैंकले जुनसुकै बेला टेक ओभर गर्ने सक्ने खतरा बढेको हो ।

त्यस्तै, पोखरा फाइनान्सको खराब कर्जा २९.०६ प्रतिशत रहेको छ भने गोर्खाज फाइनान्सको १६.१० प्रतिशत रहेको छ । यता, सेन्ट्रल फाइनान्सको समेत खराब कर्जा १४.१८ प्रतिशत रहेको छ ।

नाफामा नम्बर वान स्थानमा रहेको आइसिएफसि फाइनान्स खराब कर्जा कम हुने कम्पनीमा रहेको छ । कम्पनीको खराब कर्जा ३.६८ प्रतिशतबाट घटेर १.८३ प्रतिशत पुगेको छ ।

साथै, श्रीइन्भेष्टमेन्ट फाइनान्सको २.८६ प्रतिशतबाट घटेर २.५७ प्रतिशत, मञ्जुश्री फाइनान्सको ३.२२ प्रतिशतबाट घटेर ३.११ प्रतिशत,र प्रोगेशिभ फाइनान्सको ८.९२ प्रतिशतबाट घटेर ४.४४ प्रतिशत खराब कर्जा रहेको छ ।

यता, मल्टीप्रपोज फाइनान्सको ५.४७ प्रतिशत, गुडबिल मर्चेन्टको ५.७६ प्रतिशत, बेष्ट फाइनान्सको ८.८४ प्रतिशत, रिलायन्स फाइनान्सको ९ प्रतिशत, समृद्धि फाइनान्सको ९.६६ प्रतिशत र नेपाल फाइनान्सको ९.७४ प्रतिशत खराब कर्जा रहेको देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*