वर्षदिनमा लघुवित्तहरुको खुद ब्याज आम्दानी १९%ले बढेर ३१ अर्ब पुग्यो, कुनको कति ? (तथ्यांकसहित)

२ भाद्र २०८२, सोमबार १२:०१

काठमाडौं । नेपालमा सञ्चालन रहेको लघुवित्त संस्थाहरुले गत वर्षमा करिव ३१ अर्ब रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् । नेपाल स्टक एक्सचेन्च (नेप्से)मा सूचीकृत भएका ५० लघुवित्त संस्थाहरुले वर्षदिनमा कुल ३० अर्ब ९० करोड ३६ लाख रुपैयाँको खुद ब्याज आम्दानी गर्न सफल भएका हुन् ।

विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा लघुवित्तको ब्याज आम्दानी १९.१८ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तहरुले २५ अर्ब ९३ करोड एक लाख रुपैयाँ बराबर ब्याज आम्दानी गरेको थियो । लघुवित्तहरुको मेरुदण्डको रुपमा ब्याज आम्दानी रहेको हुन्छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्त कम्पनीहरुको खराव कर्जामा न्युनिकरण भएसँगै कम्पनीहरुको खुद ब्याज आम्दानी बृद्धि भएको छ । लघुवित्तहरुको आयको प्रमुख स्रोतको रुपमा ब्याज आम्दानीलाई लिन सकिन्छ । ब्याज आम्दानीले लघुवित्त कम्पनीको मुनाफा लगायतका प्रमुख वित्तीय सूचांकहरुमा ठूलो प्रभाव पारेको हुन्छ । यस अवधिमा अधिकांश लघुवित्त कम्पनीहरुको प्रतिशेयर आम्दानीमा पनि सुधार आएको छ ।

यस अवधिमा कम्पनीहरुले आफ्ना बचतकर्ता तथा कर्जा अशुलीलाई विशेष प्राथमिकता राख्नै व्यवसाय सञ्चालन गरिरहेका छन् । विभिन्न आन्दोलित समुहको गैर–कानुनी क्रियाकलापलाई सरकारले निर्मूल पारेका कारण समेत लघुवित्तहरुको ब्याज आम्दानी सुधार आएको लघुवित्तकर्मीहरुको धारणा रहेको छ ।

समीक्षा अवधिमा नौ वटा लघुवित्त संस्थाहरुको मात्र खुद ब्याज आम्दानी घटेको छ । अघिल्लो आवको तुलनामा कुल ४१ वटा संस्थाहरुले ब्याज आम्दानी बढाउन सफल भएका छन् । नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको नीतिगत साथ र स्वयमः लघुवित्तको सक्रियताले खराब कर्जा समेत घटेर ब्याज आम्दानी बढेसँगै खुद नाफा पनि आकाशिएको हो ।

समीक्षा अवधिमा नाफा र खुद ब्याज आम्दानीमा छिमेक लघुवित्त र जीवन विकास लघुवित्त अग्रस्थानमा रहेका छन् । साथै, अघिल्लो आवको तुलनामा ब्याज आम्दानी बृद्धिमा अभियान लघुवित्त, धौलागिरी र स्वाभिमान सबैभन्दा अगाडी रहेका छन् । गत आवमा सबैभन्दा बढी ब्याज आम्दानी छिमेक लघुवित्तले आर्जन गरेको छ । संस्थाले वर्षदिनमा कुल दुई अर्ब ८१ करोड ९४ लाख रुपैयाँ ब्याज आम्दानी गर्न सफल भएको छ ।

साथै, जीवन विकास लघुवित्तले दुई अर्ब ११ करोड ७८ लाख रुपैयाँ, स्वावलम्बन लघुवित्तले एक अर्ब ८३ करोड ७३ लाख रुपैयाँ, डिप्रोक्स लघुवित्तले एक अर्ब ८३ करोड ५८ लाख रुपैयाँ, साना किसान लघुवित्तले एक अर्ब ७९ करोड ४९ लाख रुपैयाँ खुद ब्याज आम्दानी संकलन गरेको छ ।

समीक्षा अवधिमा निर्धन उत्थान लघुवित्तले एक अर्ब ७६ करोड ४९ लाख रुपैयाँ, नेशनल लघुवित्तले एक अर्ब ६१ करोड ५५ लाख रुपैयाँ, नेरुडे मिर्मिरे लघुवित्तले एक अर्ब ४३ करोड ४७ लाख रुपैयाँ, ग्रामिण विकास लघुवित्तले एक अर्ब १६ करोड ७२ लाख रुपैयाँ, फरवार्ड माइक्रोफाइनान्सले एक अर्ब पाँच करोड ५२ लाख रुपैयाँ र मेरोमाइक्रोफाइनान्स लघुवित्तले एक अर्ब पाँच करोड तीन लाख रुपैयाँ खुद ब्याज आम्दानी कमाएका छन् ।

गत आवको प्रकाशित वित्तीय विवरणका अनुसार अधिकांश कम्पनीहरुको खराब कर्जामा सुधार भएसँगै नाफामा बढोत्तरी भएको छ । साथै कम्पनीहरुको खुद ब्याज आम्दानी पनि बृद्धि हुदै गएको छ । नियमन निकाय नेपाल राष्ट्र बैंक र सरकारको साथ सहयोगका साथै स्वयमः कम्पनीहरुको सक्रियतामा खराव कर्जा घट्दै गएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*