पोखरामा बाटोको मुद्दा जित्न २ लाख घुस, लिने र दिने दुवै कट्घरामा
२ भाद्र २०८२, सोमबार १३:३१

काठमाडौं । पोखरामा बाटोको मुद्दा जित्न २ लाख रुपैयाँ घुस लेनदेन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने र दिने दुवै विरुद्ध मुद्दा चलाएको छ।
न्यायिक समितिमा विचाराधीन रहेको पोखरा–२६ को बाटोको मुद्दा जित्नलाई २ लाख रुपैयाँ घुस लेनदेन भएको भन्दै अख्तियारमा उजूरी परेको थियो।
अख्तियारले छानबीन गर्ने क्रममा उक्त मुद्दाका निवेदक रविन कुमार श्रेष्ठले मुद्दाको फैसला आफ्नो पक्षमा गरिदिन भन्दै तत्कालीन न्यायिक समितिकी सदस्य भावना श्रेष्ठलाई २ लाख रुपैयाँ घुस दिएको खुलेको छ। उक्त घुस लिने भावना श्रेष्ठ पोखरा महानगरपालिका वडा नम्बर ९ की वडा सदस्य (जनप्रतिनिधि) समेत हुन्।
अख्तियारले उनीहरू दुवैजनालाई विपक्षी बनाएर आज काठमाडौंको विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो।











