नेपाल–नेशनल र एलआइसीलाई दाँजेर हेर्दा, कुन वित्तीय सूचकमा को मजबुद ? (विश्लेषणसहित)

काठमाडौं । हाल नेपालमा संचालन रहेका जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८१–०८२ को अन्तिम अर्थात चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाललाई स्थापित र ठुला जीवन बीमा कम्पनीमा रुपमा नागरिकले हेर्ने गरेका छन् । लाखौ नागरिकहरुको अर्बौ प्रिमियम यी कम्पनीहरुमा रहेको छ ।
नेपाली बीमा क्षेत्रमा यी कम्पनीहरु ठूला र वित्तीय विवरणमा बलिया रहेका छन् । जहाँ हजारौं मानिसहरुले जीवन बीमा गरेर आफ्नो जीवन रक्षावरणको जिम्मा लगाएका छन् । नागरिकहरुले नयाँ, कमजोर भन्दा पनि वित्तीय विवरणले बलिया र पुराना ठूला विश्वासिला कम्पनीहरुलाई बीमा गर्नको लागि बढी रुचाउने गर्दछन् । नेपाल लाइफ इन्स्योरेन्स, एलआइसी नेपाल र नेशनल लाइफ इन्स्योरेन्सलाई बीमापोष्टले वित्तिय विवरणमा आधारित रहेर दाँजेर हेर्दा यस्तो चित्र कोरिएको छ ।

स्रोतः कम्पनीहरुले प्रकाशित गरेको गत आवको अन्तिम वित्तीय विवरण
चुक्ता पुँजीः
चुक्ता पुँजीको आधारमा नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि देखिन्छ । कम्पनीको चुक्ता पुँजी नौ अर्ब दुई करोड ८७ लाख रुपैयाँ रहेको छ । दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको चुक्ता पुँजी पाँच अर्ब ४७ करोड २७ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, तेस्रोमा रहेको एलआइसी नेपालको चुक्ता पूँजी पाँच अर्ब ५० करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा यस कम्पनीले हकप्रद शेयर निष्काशन गरी नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी पुर्याएको हो ।
जीवन बीमा कोषः
समीक्षा अवधिमा उल्लेखित कम्पनीहरुलाई जीवन बीमा कोषको आधारमा दाजेर हेर्दा नेपाल लाइफ अग्रस्थानमा रहेको छ । कम्पनीले जीवन बीमा कोषमा दुई खर्ब ३३ अर्ब ६७ करोड ३७ लाख रुपैयाँ संचित गर्न सफल भएको छ । जीवन बीमा क्षेत्रमा नेपाल लाइफको जीवन बीमा कोष निकै नै मजबुत रहेको तथ्याङ्कमार्फत स्पष्ट रुपमा देख्न सकिन्छ ।
दोस्रो नम्बरमा रहेको एलआइसी नेपालको जीवन बीमा कोषमा एक खर्ब ३२ अर्ब ९२ करोड ६६ लाख रुपैयाँ रकम संचिती रहेको छ । त्यस्तै, नेशनल लाइफको जीवन बीमा कोषमा ८९ अर्ब ९१ करोड ४९ लाख रुपैयाँ सञ्चित रहेको छ ।
जगेडा कोषः
तीन कम्पनीहरुको तुलनात्मक अध्ययन गर्दा जगेडा कोषमा एलआइसी नेपाल सबैभन्दा अगाडी रहेको छ । कम्पनीले यस अवधिमा उक्त कोषमा दुई अर्ब ९९ करोड आठ लाख रुपैयाँ संचित गरेको छ । दोस्रो नम्बरमा रहेको नेपाल लाइफको उक्त कोषमा एक अर्ब २४ करोड १२ लाख रुपैयाँ र नेशनल लाइफको ५१ करोड एक् लाख रुपैयाँ सञ्चित रहेको छ ।
खुद बीमा शुल्क आर्जनः
तीन कम्पनीको तुलनात्मक अध्ययन गर्दा खुद बीमा शुल्कको आधारमा पनि नेपाल लाइफ नै सबैभन्दा अगाडी रहेको छ । कम्पनीले यस अवधिमा ४७ अर्ब ६६ करोड ७० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । दोस्रो नम्बरमा रहेको नेशनल लाइफले २१ अर्ब ४७ करोड २७ लाख रुपैयाँ र तेस्रो स्थानमा रहेको एलआइसी नेपालले १९ अर्ब तीन करोड ८२ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।
खुद नाफाः
वित्तीय विवरण सार्वजनिक गरेका अधिकांश कम्पनीहरुको मुनाफामा वृद्धि भएको् छ । यस अवधिमा खुद नाफाको आधारमा पनि नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडी रहेको छ । कम्पनीले यस अवधिमा ६० करोड ३२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
दोस्रो नम्बरमा रहेको नेशनल लाइफको मुनाफा ४१ करोड २८ लाख रुपैयाँ र एलआइसी नेपालको मुनाफा ३१ करोड ५८ लाख आर्जन गरेको छ । यद्यपि, जीवन बीमा कम्पनीको हकमा एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा भने एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ ।
कुल बीमा दावी भुक्तानीः
तीन कम्पनीको तुलनात्मक अध्ययन गर्दा कुल बीमा दाबी भुक्तानीमा नेपाल लाइफ अगाडि रहेको छ । समीक्षा अवधिमा नेपाल लाइफले १९ अर्ब १९ करोड ६४ लाख रुपैयाँको कुल दावी भुक्तानी गरेको छ । नेपाल लाइफ व्यवसायिक रुपले अगाडि भएको कारण कम्पनीको कुल बीमा दाबी भुक्तानी पनि बढी देखिएको हो ।
त्यस्तै, यस अवधिमा एलआइसी नेपालले १२ अर्ब ५९ करोड दुई लाख रुपैयाँ र नेशनल लाइफ इन्स्योरेन्सले सात ११ अर्ब सात करोड १२ रुपैयाँ बराबरको कुल बीमा दावी भुक्तानी गरेको छ ।
कुल खर्चः
समीक्षा अवधिमा खुल खर्चमा पनि नेपाल लाइफ नै अग्रस्थानमा रहेको छ । विभिन्न शिर्षकमा कम्पनीले यस अवधिमा ६४ अर्ब २० करोड ७७ लाख रुपैयाँ खर्च गरेको छ । दोस्रो नम्बरमा रहेको एलआइसी नेपालले २९ अर्ब ५५ करोड ५८ लाख रुपैयाँ र नेशनल लाइफले २७ अर्ब ४२ करोड ९८ लाख रुपैयाँ कुल खर्च गरेका छन् ।
बीमालेख संख्याः
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा नेपाल लाइफमा २२ लाख ८७ हजार वटा बीमा गरिएको अवस्था छ । साथै गत आवमा एलआइसी नेपालमा १५ लाख १९ हजार र नेशनल लाइफमा ६ लाख ९१ हजार वटा बीमा गरिएको छ ।
प्रति शेयर आम्दानी
प्रति शेयर आम्दानीको आधारमा तीन कम्पनीबीच गरेको तुलनात्मक अध्ययनको आधारमा नेशनल लाइफ इन्स्योरेन्स अगाडी रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी सात रुपैयाँ ९२ पैसा रहेको छ । दास्रोमा रहेको नेपाल लाइफको छ रुपैयाँ ६८ पैसा तेस्रो स्थानमा रहेको एलआइसी नेपालको पाँच रुपैयाँ ७४ पैसा मात्र छ ।
:उपलब्ध तथ्याङ्क कम्पनीले प्रकाशित गरेको गत आवको चौथो त्रैमासको वित्तीय विवरण आधारबाट तयार गरिएको हो । शेयर कारोबारको लागि लगानीकर्ताले कारोवारको अन्तिम निर्णय लिनु अघि कम्पनीको बारेमा थप अनुसन्धान गर्नुपर्ने हुन्छ ।













