सूचनाको अधिकार लोकतन्त्रको प्राणवायु हो : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचनाको अधिकारलाई लोकतन्त्रको प्राणवायु भन्दै यसको जिम्मेवार प्रयोग गर्न सबै नागरिकलाई आग्रह गरेका छन् । १९ औं राष्ट्रिय सूचना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सूचनाको अधिकारले नागरिकलाई सशक्त बनाउने, पारदर्शिता बढाउने र सुशासनलाई सुदृढ गर्ने विश्वास व्यक्त गरे ।
उनले नेपालको संविधानले सूचनाको हकलाई मौलिक अधिकारको रूपमा प्रत्याभूत गरेको स्मरण गर्दै यो अधिकारको सदुपयोगले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न योगदान पुग्ने बताए । प्रधानमन्त्री ओलीले भने, ‘सूचना माग्ने नाममा सरोकार नै नभएका व्यक्तिले अनावश्यक सूचना मागेर दुरुपयोग गर्नु हुँदैन । राष्ट्रिय हित, व्यक्तिगत गोपनीयता र सामाजिक सद्भावलाई ख्याल राखेर नागरिकले आफ्नो अधिकार प्रयोग गर्नुपर्छ ।’
उनका अनुसार, सूचनाको हक सम्बन्धी ऐन, २०६४ मार्फत स्थापना भएको राष्ट्रिय सूचना आयोगलाई यो अधिकारको संरक्षण, संवर्द्धन र प्रचलन गर्ने जिम्मेवारी दिइएको छ । आयोगले सूचना प्रवाहलाई सहज बनाउन, पारदर्शिता बढाउन र जवाफदेहितालाई प्रवर्द्धन गर्न सक्रिय भूमिका निर्वाह गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले सार्वजनिक निकायहरूलाई पारदर्शी बन्नु अनिवार्य रहेको उल्लेख गर्दै सरकारी तथा गैरसरकारी संस्थाहरूले सूचना प्रवाहमा सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । उनले आयोगलाई पनि सूचनाको दुरुपयोग रोक्न स्पष्ट दृष्टिकोण लिनुपर्ने आवश्यकता औंल्याए ।

शुभकामना सन्देशमार्फत प्रधानमन्त्री ओलीले राष्ट्रिय सूचना आयोग तथा सरोकार भएका सबै निकायलाई सशक्तीकरणको कार्यमा सफलता प्राप्त गर्न शुभेच्छा व्यक्त गर्दै सूचनाको अधिकारको सदुपयोगले लोकतन्त्र र राष्ट्र निर्माणमा ठूलो योगदान दिने विश्वास व्यक्त गरेका छन् ।













