युक्रेन युद्ध अन्त्यको संघारमाः विश्व अर्थतन्त्र चलायमान हुने, आर्थिक वृद्धिदर नै फेरबदल हुन सक्छ

काठमाडौं (एजेन्सीको सहयोगमा) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा जारी युक्रेन युद्ध अन्त्यको अन्तिम प्रयास जारी छ । अलास्कामा सम्पन्न भएको राष्ट्रपतिद्वय पुटिन र ट्रम्पबीचको वार्ताले युद्धविरामको साटो शान्ति सम्झौताको लय समातेपछि युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की युरोपेली सहयोगीहरू सहित वासिङ्टन पुगेर अमेरिकी राष्ट्रपति ट्रम्पसँग वार्ता सम्पन्न गरेका छन् ।
पछिल्लो ताजा अपडेट अनुसार युक्रेनी राष्ट्रपति जेलेन्स्की रसियाली राष्ट्रपति पुटिनसँग भेटवार्ताका लागि राजी भएका छन् । सम्भवतः अबको भेटवार्तामा युक्रेनले रसियासँग शान्ति सम्झौता गर्नेछ जसमा युक्रेनको सुरक्षा जिम्मेवारी रसियालले लिनेछ भने क्रिमिया युक्रेनले दाबी गर्न पाउने छैन । सम्भवतः हाल युक्रेनले गुमाएको भूभाग समेत रसियाबाट फिर्ता पाउने सम्भावना छ ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले विवेक नगुमाई असल कूटनीतिक अभ्यासको अनुसरण गरेमा आगामी केही दिन वा केही घण्टाभित्रैमा युक्रेन युद्ध अन्त्यको घोषणा हुनसक्ने सम्भावना रहेको छ । युक्रेन युद्ध अन्त्य हुन लागेसँगै विश्वभरको अर्थतन्त्रमा भने खुशीको सञ्चार भइरहेको छ । उक्त युद्ध अन्त्य भएमा युरोपमा मात्रै ०.५ प्रतिशत मूल्यवृद्धि घट्ने विश्वास गरिएको छ । साथै विश्वकै आर्थिक वृद्धिदर ०.४३ प्रतिशतले वृद्धि हुनसक्ने अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
युक्रेन युद्ध अन्त्य भएको अवस्थामा विश्व अर्थतन्त्र एक पटक गुल्जार बन्ने प्रक्षेपणहरू समेत यसअघि नै भइसकेका छन् । २०२२ को फ्रेबुअरी १४ बाट शुरू भएको युक्रेन युद्धका कारण कोरोनापछि भर्खरै उठ्न लागेको विश्व अर्थतन्त्रमा व्यापक मन्दी शुरू भएको थियो । अहिले सिंगो युरोपको आर्थिक गतिविधिहरू सुस्त छन् भने अमेरिका पनि आर्थिक संकटबाट जुध्न ट्रम्प प्रशासनले कर युद्ध छेडिरहेका छन् ।
युक्रेनले अमेरिकी सहयोगमा युद्ध अन्त्यको आशा गरिरहेको छ । युक्रेनलाई उचाल्ने युरोपेली राष्ट्रका प्रमुखहरूलाई समेत ट्रम्पले जेलेन्स्कीकै अगाडि राखेर वार्ता गरेपछि अब थप उचालेर युद्ध लम्ब्याउने अवस्था आउन गाह्रो पर्ने देखिएको छ । युक्रेन युद्ध पछिल्लो समयको सबैभन्दा महंगो र हाईटेक युद्ध हो । अमेरिका, इजरायल, चिनियाँ, उत्तर कोरिया, जापानदेखि रसिया समेतका हात हतियारहरू उक्त युद्धमा परिक्षण र प्रयोग दुवै भइरहेका छन् ।
हालसम्म युक्रेन युद्धमा १६५ अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी सहयोग रकम खर्च भएको छ । सोमध्ये सबैभन्दा धेरै अमेरिकाले मात्रै १३० अर्ब डलर खर्च गरेको छ । अमेरिका र युरोपका लागि महंगो परेको यो युद्ध अन्त्य भएमा युरोप र अमेरिका आर्थिक संकटबाट जुरुक्कै उठ्ने विश्वास गरिएको छ । जसको प्रत्यक्ष अप्रत्यक्ष असर विश्व अर्थतन्त्रमा पर्ने निश्चित छ ।













