जीवन बीमकले गत वर्षमा दिए ७८ अर्ब दाबी भुक्तानी, कुन कम्पनीले कति?

३ भाद्र २०८२, मंगलवार १४:४०

काठमाडौं । हाल नेपालमा सञ्चालित १४ वटै जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष (आव) २०८१/०८२ मा कुल ७८ अर्ब ७२ करोड रुपैयाँको दाबी भुक्तानी दिएका छन्।

कम्पनीहरूले हालै सार्वजनिक गरेको वित्तीय विवरण अुनसार अघिल्लो आव २०८०/०८१ मा जम्मा ६६ अर्ब ४ करोड रुपैयाँको दाबी भुक्तानी दिएकोमा त्यसको तुलनामा गत वर्ष १९.२० प्रतिशत बढी दाबी भुक्तानी दिएको हो।

जसमध्ये नेपाल लाइफले सर्वाधिक १९ अर्ब १९ करोड रुपैयाँको दाबी भुक्तानी दिएको छ भने दोस्रोमा एलआईसी नेपालले १२ अर्ब ५९ करोड रुपैयाँ र तेस्रोमा नेशनल लाइफले ११ अर्ब ७ करोड रुपैयाँको दाबी भुक्तानी दिएका छन्।

त्यसैगरी सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ६ अर्ब ५६ करोड रुपैयाँ, एशियन लाइफले ६ अर्ब १८ करोड रुपैयाँ, सूर्यज्योति लाइफले ३ अर्ब ६९ करोड रुपैयाँ र मेट लाइफले २ अर्ब ९४ करोड रुपैयाँको दाबी भुक्तानी गरेका छन्।

त्यस्तै सिटिजन लाइफले १ अर्ब ९१ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ अर्ब ७७ करोड रुपैयाँ, सन नेपाल लाइफले १ अर्ब ५७ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ४३ करोड रुपैयाँ, आइएमई लाइफले १ अर्ब २८ करोड रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले १ अर्ब १५ करोड रुपैयाँको दाबी भुक्तानी बीमितलाई दिएका छन्।

वृद्धिदरको आधारमा
यी नै कम्पनीहरूले अघिल्लो आवमा दिएको दाबी भुक्तानीसँग गत आवमा सम्बन्धित कम्पनीले दिएको दाबी भुक्तानी दाँजेर वृद्धिदर हेर्ने हो भने ३२.९४ प्रतिशतको वृद्धि सहित नेशनल लाइफ अग्रस्थानमा रहेको छ।

दोस्रोमा ३२.६० प्रतिशतको वृद्धि सहित एशियन लाइफ छ भने तेस्रोमा २८.०१ प्रतिशतको वृद्धि सहित नेपाल लाइफ रहेको छ। त्यसैगरी सन नेपाल लाइफको २७.९९ प्रतिशत, राष्ट्रिय जीवन बीमाको २४.७७ प्रतिशत र हिमालयन लाइफको २२.४३ प्रतिशतले दाबी भुक्तानीमा वृद्धि भएको छ।

त्यस्तै एलआईसी नेपालको १५.५२ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ७.०१ प्रतिशत, सिटिजन लाइफको ४.५८ प्रतिशत र आइएमई लाइफको २.८९ प्रतिशतले दाबी भुक्तानी बढेको छ। यता सूर्यज्योति लाइफको ८.९१ प्रतिशत, मेट लाइफको ८.९४ प्रतिशत र सानिमा रिलायन्स लाइफको १०.८४ प्रतिशतले दाबी भुक्तानी घटेको वित्तीय विवरणले देखाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*