ब्यवसायीमैत्री नीतिहरू बनेका छन्, सरकार सधैं साथमा छ : प्रधानमन्त्री ओली

३ भाद्र २०८२, मंगलवार १५:२६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले व्यवसायीमैत्री नीतिहरू ल्याइरहेको बताउँदै कुनै पनि समस्या आए व्यवसायीले ढुक्कसँग अघि बढ्न सक्ने वातावरण बनेको बताएका छन्।

मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शोको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यवसायीहरूलाई निरन्तर प्रोत्साहन गर्ने नीति सरकारको रहेको बताए। उनले भने, ‘ब्यवसायीहरू असन्तुष्ट हुनु पर्ने कुनै कारण छैन। मौद्रिक नीति, बजेट लगायतका दस्तावेजमा हाम्रा नीतिहरू प्रोत्साहन गर्ने खालका छन्। सरकारले व्यवसायीलाई समर्थन गर्दै अघि बढ्नेछ।’

उनले नाडा अटो शो नयाँ प्रविधिको संगम भएको उल्लेख गर्दै विश्वभर प्रविधि क्षेत्रमा निरन्तर फड्को मारिरहेको अवस्थामा नेपाल पनि पछाडि नपर्ने बताए। उनका अनुसार नयाँ प्रविधिहरू नेपालमा भित्रिँदै छन् भने युवाहरूले समेत नयाँ नयाँ काममा सफलता हासिल गरिरहेका छन्।

प्रधानमन्त्री ओलीले नाडाका अध्यक्ष करण चौधरीलाई सक्षम युवा नेतृत्वको उदाहरण दिँदै अब देश चलाउने जिम्मेवारी पनि युवाले लिनुपर्ने बताए। उनले व्यंग्यात्मक शैलीमा आफू प्रधानमन्त्री पद छोड्न तयार रहेको तर सक्षम युवा अझै अघि नआएको टिप्पणीसमेत गरे।

सडक र पूर्वाधार विकासलाई जोड दिँदै उनले गुणस्तरीय राजमार्गहरूको विस्तार भइरहेको र प्रत्येक गाउँ–बस्तीमा सडक सञ्जाल पुग्दै गएको बताए। उनका अनुसार पूर्वाधार विकास विना समृद्धिको बाटोमा अघि बढ्न सकिन्न।

प्रविधिको क्षेत्रमा नेपालले अझै धेरै गर्न सक्ने सम्भावना रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपालमा नै उड्ने कारजस्ता प्रविधि उत्पादन र बिक्री गर्ने क्षमतासमेत बनाउनुपर्नेमा जोड दिए।

उनले अन्त्यमा व्यवसायीहरूलाई कुनै समस्या वा बाधा आए सरकार पूर्ण रूपमा साथ दिन तयार रहेको स्पष्ट पार्दै आत्मविश्वासका साथ अघि बढ्न आह्वान गरे।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*