वर्षदिनमा बिजुली बेचेर ८७ हाइड्रोपावरले कमाए ३८ अर्ब, कुनको आंकडा कस्तो ? (तथ्यांकसहित)

काठमाडौं । विपद्का जोखिम र प्राकृतिक चुनौतीबीच पनि जलविद्युत कम्पनीहरूले आफ्नो वित्तीय आधार सुदृढ बनाउन सक्षम भएका छन् । बाढी–पहिरोले भौतिक संरचना प्रभावित पार्दा पनि उत्पादनमा ठुलो अवरोध नआएकाले विद्युत बिक्रीबाट प्राप्त हुने आय बढेको देखिएको हो । यससँगै नाफा लगायतका प्रमुख आर्थिक सूचकाङ्कमा क्रमशः सुधार देखिन थालेको छ, जसले समग्र जलविद्युत क्षेत्रलाई थप सकारात्मक र दिगो दिशातर्फ उन्मुख गराएको छ ।
हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ८७ हाइड्रोपावर कम्पनीहरुले गत आर्थिक वर्ष २०८१।०८२ मा विद्युत बेचेर ३८ अर्ब २३ करोड ७१ लाख ५ हजार रुपैयाँ आम्दानी गरेका छन् । जुन अघिल्लो आर्थिक वर्ष २०८०।०८१ को तुलनामा १३.९३ प्रतिशतले बढी हो । अघिल्लो आवमा जलविद्युत कम्पनीहरुले ३३ अर्ब ५६ करोड २३ लाख २५ हजार रुपैयाँ विद्युत बिक्री आम्दानी गरेका थिए ।
विद्युत बिक्री बढ्दा हाइड्रोपावरले गत आर्थिक वर्षमा २ अर्ब १९ करोड १२ लाख १ हजार रुपैयाँ नाफा कमाएका हुन् । अघिल्लो आर्थिक वर्षमा भने हाइड्रोपावर कम्पनीहरुको नाफा २ अर्ब ५३ करोड ५ लाख रुपैयाँ ऋणात्मक रहेको थियो । गत वर्ष भने विद्युत बिक्री आम्दानीमा आएको सुधारसँगै नाफा समेत बढोत्तरी भएको हो ।
सुधारिँदै हाइड्रोको वित्तीय अवस्थाः ८९ वटा मध्ये कसको नाफा, ईपीएस र नेटवर्थ कति? (तथ्यांकसहित)
समिक्षा अवधिमा बिद्युत बिक्री आम्दानी सर्वाधिक गर्नेमा अप्पर तामाकोशी जलविद्युत रहेको छ । कम्पनीले गत आर्थिक वर्षमा बिजुली बेचेर ६ अर्ब ९२ करोड ३८ लाख रुपैयाँ आम्दानी गरेको छ । तर, उक्त आम्दानी गत वर्षको तुलनामा भने २०.२२ प्रतिशतले कम हो ।
गत आर्थिक वर्षमा सर्वाधिक विद्युत बिक्री गर्ने दोस्रो नम्बरमा साहज उर्जा रहेको छ । कम्पनीले वर्षदिनेको अवधिमा २ अर्ब ६४ करोड ८१ लाख रुपैयाँको बिजुली बेचेर हो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ८ प्रतिशतले बढी हो ।
त्यस्तै, समिक्षा अवधिमा क्रमशः सानिमा मिडिलले बिधुत बिक्री मार्फत १ अर्ब ९७ करोड ३१ लाख, अपि पावरले १ अर्ब ६५ करोड १२ लाख, ग्रिन भेन्चर्र्सले १ अर्ब ६१ करोड ३६ लाख, माउन्टेन इनर्जीले १ अर्ब ३० करोड ७२ लाख, चिलिमे हाइड्रोपावरले १ अर्ब १२ करोड, ग्रिनलाइफ हाइड्रोपावरले १ अर्ब १२ करोड ३१ लाख, पिपुल्स पावरले ९७ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेका हुन् ।
उत्पादन क्षमतामा आएको निरन्तर वृद्धि, बैंकिङ्ग ब्याजदरमा आएको गिरावट र खर्च नियन्त्रणमा अपनाइएको सजग रणनीतिले जलविद्युत कम्पनीहरूको लाभमा प्रत्यक्ष योगदान पु-याएको छ । दीर्घकालीन सम्झौताबाट लाभदायक मूल्य सुनिश्चित हुनुका साथै अतिरिक्त विद्युत आपूर्ति गर्न सक्नु आय विस्तारको प्रमुख आधार बनेको छ ।
यसअवधिमा सर्वाधिक कम विद्युत बिक्री आम्दानी गर्नेमा अप्पर स्याङ्गे हाइड्रोपावर रहेको छ । वर्षदिनको अवधिमा कम्पनीले १ करोड १९ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको हो ।
साथै, विद्युत बिक्री आम्दानी शुभव पावरको २ करोड २४ लाख, माथिल्लो मैलिङ खोलाको २ करोड ५४ लाख, जोशि हाइड्रोपावरको २ करोड ५४ लाख, बराही हाइड्रोपावरको २ करोड ९५ लाख, कुथेली बुखेरी हाइड्रोपावरको ३ करोड ११ लाख, भुगोल इनर्जीको ५ करोड ३६ लाख र सयपत्री हाइड्रोपावरको ५ करोड ७८ लाख रुपैयाँ रहेको छ ।
कुन हाइड्रोपावरको कति ?














