पुँजी बजार सुस्तः खुम्चिदै कारोबार, लगानीकर्ताको लगानी बालुवामा पानी !

काठमाडौँ। शेयर बजार आज ओरालो लागेको छ। अघिल्ला दुई दिन हरियाली देखिएको बजारमा आज खुम्चिनो लागेको हो। पछिल्लो केही समय यता बजार निरन्तर सुस्त हुँदै आएको छ भने कारोबार रकम समेत घटेको छ। मौद्रिक नीतिपछि बजार ३००० बिन्दुमा पुगेको बेला हौसिएर शेयर खरिद गर्ने लगानीकर्ताहरू अहिले घाटामा परेका छन्।
बैंक तथा वित्तीय संस्थाहरूले लाभांश क्षमतामा सुधार देखाउने वित्तीय विवरण सार्वजनिक गरेका भए पनि त्यसको असर बजारमा विशेष देखिएको छैन। विश्लेषकहरूको अनुसार बजारमा माफियाको प्रभाव र उच्च मूल्यमा खरिद गर्ने प्रवृत्तिले अस्थिरता बढाइरहेको छ। यसले लगानीकर्तामा निराशा उत्पन्न गरिरहेको छ र शेयर मूल्यमा स्थिरता कायम गर्न चुनौती थपिरहेको छ।
मौद्रिक नीतिले केही समयका लागि सकारात्मक संकेत दिएको भए पनि पछिल्ला हप्ताहरूमा सूचक निरन्तर घट्दा लगानीकर्ताको उत्साह घट्दै गएको छ। विशेषज्ञहरूले बजारमा स्थायित्व र विश्वास फर्काउन दीर्घकालीन रणनीति अपनाउन र सावधानीपूर्वक लगानी गर्न सुझाव दिएका छन्।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.९१ अकंले घटेर २७७०.९९ बिन्दुमा कायम भएको छ । आज ३२३ कम्पनीको १ करोड ५२ लाख ६६ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २० करोड ७ लाख ५३ हजार रुपैयाँको कारोबार भएको हो ।
यसदिन ११ उपसूचक राताम्य भएका छन् । आज वाणिज्य बैंक समूहको ०.०६ प्रतिशत, विकास बैंक समूहको ०.६५ प्रतिशत, फाइनान्स समूहको ०.४६ प्रतिशतले शेयर मूल्य घटेको छ ।
बुधबार ५९ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको घटेको छ ।














