२ करोड २० लाखको एक्सपेङ एक्स ९: ५०० किलोमिटर रेन्ज र लक्जरी फिचर (भिडियोसहित)

४ भाद्र २०८२, बुधबार १६:४८

काठमाडौं । नेपाली बजारमा नयाँ प्रिमियम स्तरको विद्युतीय गाडी थपिएको छ। चीनको चर्चित विद्युतीय गाडी ब्रान्ड एक्सपेङले आफ्नो बहुप्रतिक्षित मोडल ‘एक्स–९’ सार्वजनिक गरेको छ। नेपालमा यसका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले एक्सपेङ एक्स–९ नेपाली उपभोक्तामाझ ल्याएको हो।

लक्जरी एमपीभी श्रेणीमा पर्न आउने एक्सपेङ एक्स–९ लाई कम्पनीले २ करोड २० लाख रुपैयाँ मूल्य निर्धारण गरेको छ। मूल्यको हिसाबले यो नेपाली बजारमा भित्रिएका अहिलेसम्मका केही महँगा विद्युतीय मोडलहरूमध्ये एक हो।

एक्स–९ मा अत्याधुनिक ८४.५ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री जडान गरिएको छ, जसको आधारमा एकपटकको चार्जमा ५०० किलोमिटरभन्दा बढी दूरी तय गर्न सकिने दाबी गरिएको छ। यसमा २३५ किलोवाट क्षमताको फ्रन्ट ह्वील ड्राइभ मोटर प्रयोग भएको छ, जसले शक्तिशाली प्रदर्शन दिने अपेक्षा गरिएको छ।

भिडियोको फेसबुक लिङ्क

https://www.facebook.com/watch/?v=932593209065670

गाडीको आकार हेर्दा यसको लम्बाइ ५२९३ एमएम, चौडाइ १९८८ एमएम र उचाइ १७८५ एमएम रहेको छ, जसले यसलाई विशाल पारिवारिक तथा लक्जरी सवारी साधनको रुपमा स्थापित गर्दछ।

यसको क्याबिनमा यात्रुहरुको सुविधा र मनोरञ्जनलाई प्राथमिकता दिइएको छ। पछाडिको सिटतर्फ यात्रुका लागि सिलिङमा माउन्ट गरिएको २१।४ इन्चको फोल्ड डाउन फिचर भएको थ्रीके रेजुलुसन डिस्प्ले उपलब्ध छ। त्यस्तै, प्यानारोमिक सनरुफ र अगाडिको सिटब्याकमा कन्ट्रोल प्यानल जडान गरिएको छ, जसले सवारी अनुभवलाई आधुनिक र फरक बनाउँछ।

सस्पेन्सन प्रणाली पनि प्रिमियम स्तरकै छ। अगाडि डबल विसबोन र पछाडि मल्टिलिङ्क इन्डिपेन्डेन्ट सस्पेन्सन दिइएको छ। यी दुवैमा ड्युल चेम्बर एयर स्प्रिङ सिस्टम रहेको हुँदा सवारीलाई थप सहज, स्थिर र आरामदायी बनाउने कम्पनीको विश्वास छ।

नेपालमा विद्युतीय सवारी साधनप्रतिको चासो निरन्तर बढिरहेको बेला सीजी मोटर्सले एक्सपेङ एक्स–९ जस्तो प्रिमियम स्तरको गाडी भित्र्याएर बजारलाई थप प्रतिस्पर्धात्मक बनाएको छ। वातावरणमैत्री प्रविधि, उच्चस्तरीय प्रविधि र लक्जरी अनुभवको संयोजनका कारण यो गाडीले नेपाली उपभोक्तामाझ उल्लेख्य चर्चा पाउने देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*