पूँजी बजारमा सचेतना अभिवृद्धि गर्न नेप्सेले ‘भिजिट नेप्से कार्यक्रम’ सञ्चालन गर्ने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पूँजी बजारसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘भिजिट नेप्से कार्यक्रम’ सञ्चालन गर्ने भएको छ। नेप्सेले एक सूचना प्रकाशित गरी यसबारे जानकारी दिएको हो।
यस कार्यक्रम अन्तर्गत स्कुल, कलेज तथा विश्वविद्यालयका विद्यार्थीहरूसँगै आम जनतालाई समेत लक्षित गर्दै पूँजी बजारका निकाय, संरचना तथा प्रणालीका बारेमा प्रत्यक्ष जानकारी प्रदान गरिने नेप्सेले जनाएको छ। सहभागीहरूले नेप्सेको कार्यप्रणाली नजिकबाट अवलोकन गर्ने र पूँजी बजारसम्बन्धी आधारभूत ज्ञान हासिल गर्ने अवसर पाउनेछन्।
नेप्सेका अनुसार कार्यक्रम निःशुल्क हुनेछ। इच्छुक शिक्षण संस्थाले आफ्ना विद्यार्थीहरूको नाम, ठेगाना र सहभागी हुने विद्यार्थीहरूको सङ्ख्या सहित अग्रिम रूपमा नेप्से कार्यालयमा सम्पर्क गर्नुपर्ने व्यवस्था गरिएको छ।












