नेपाल र हिमालयन रि इन्स्योरेन्सबीच लगानी विस्तारमा तीव्र प्रतिस्पर्धा, कुन क्षेत्रमा कसको कति ?

काठमाडौँ । नेपालमा सञ्चालन रहेका दुई पुनर्बीमा कम्पनी नेपाल र हिमालयनबीच लगानी विस्तारमा तीब्र प्रतिस्पर्धा देखिएको छ । सरकारी स्वामित्वको नेपाल पुनर्बीमा र नीजी क्षेत्रद्वारा सञ्चालित हिमालयन रि इन्स्योरेन्सबीच बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप, पब्लिक कम्पनीको साधारण शेयर, विभिन्न सौर्य उर्जा, शिक्षा स्वास्थ्य, इन्भेष्टमेन्ट कम्पनी लगायतका क्षेत्रमा लगानी विस्तारमा प्रतिस्पर्धा देखिएको हो ।
नेपालमा सञ्चालित पुनर्बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथो अर्थात अन्तिम त्रैमाससम्मको अवधिमा विभिन्न क्षेत्रमा कुल ४१ अर्ब दुई करोड ६५ लाख रुपैयाँ लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सञ्चालित दुई पुनर्बीमा कम्पनीहरुले नियामक निकायको अधिनमा रहेर विभिन्न क्षेत्रमा उक्त लगानी गरेका हुन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सरकारी पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमाको लगानी बढी रहेको छ । समीक्षा अवधिमा कम्पनीले विभिन्न क्षेत्रहरुमा २० अर्ब ७२ करोड ४८ लाख रुपैयाँ लगानी गरेको छ । साथै, हिमालयन रि इन्स्योरेन्सले पनि स्थापनाको निकै छोटो अवधिमै लगाानी विस्तारमा आक्रामक बनेको देखिएको छ । कम्पनीले यस अवधिमा विभिन्न लगानीयोग्य क्षेत्रहरुमा २० अर्ब ३० करोड १६ लाख रुपैयाँ लगानी गरेको छ ।
समीक्षा अवधिमा पुनर्बीमा कम्पनीहरुले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्रमा २० प्रतिशत लगानी गरेका छन् । साथै, राष्ट्र बैंकबाट अनुमतिप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुबो मुद्दति निक्षेपमा २९ अर्ब ४९ करोड ४४ लाख रुपैयाँ लगानी गरेका छन् ।
साथै, कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीहरुको साधारण शेयरमा पाँच अर्ब २८ करोड ४० लाख रुपैयाँ, नेपाल राष्ट्र बैंकबाट क, ख र ग वर्गका अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बण्ड, डिभेन्चर तथा ऋणपत्रमा दुई अर्ब ४९ करोड ३५ लाख रुपैयाँ लगानी गरेका छन् ।
सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीहरुले नागरिक लगानी कोष र म्युचुअल फण्डमा ७२ करोड नौ लाख रुपैयाँ, इन्भेष्टमेन्ट कम्पनीको शेयरमा एक अर्ब पाँच करोड रुपैयाँ, अन्य संस्थापक शेयरमा ८२ करोड १५ लाख रुपैयाँ, सूचीकृत नभएका अन्य पब्लिक कम्पनीहरुको शेयरमा ५० करोड ७२ लाख रुपैयाँ र अन्य लगानी ६५ करोड ४७ लाख रुपैयाँ रहेको छ ।
पुनर्बीमा कम्पनीहरुले मुद्धती निक्षेपबाट बाहिर निस्कदै विभिन्न क्षेत्रमा समेत लगानीको दायरा बढाएर अगाडि लगिरहेको छ । बीमा प्राधिकरणले बीमा कम्पनीहरुको लगानीको दायरा विस्तार गर्न बीमा कम्पनीहरुलाई लगानी सम्बन्धी निर्देशिका जारी गरेसँगै कम्पनीहरुले लगानीको दायरा बढाउदै लगिरहेको छ ।













