टाटाको नयाँ जेनेरेसन सफारी नेपाली बजारमा, तीन भेरियन्टसहित लक्जरी फिचर र प्रतिस्पर्धी मूल्य

काठमाडौं । टाटाको नयाँ जेनेरेसन सफारी नेपाली बजारमा प्रवेश गरेसँगै यसको रेञ्ज र अत्याधुनिक फिचरले बलियो चर्चा बटुलेको छ । ओमेगा आर्किटेक्चरमा तयार भएको यो मोडल ल्याण्डरोभरबाट प्रेरित मानिन्छ, जसले यात्रुहरूको सहजता, सुरक्षा र लक्जरी अनुभवलाई केन्द्रमा राखेर डिजाइन गरिएको छ ।
सिप्रदी ट्रेडिङ प्रालिले राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२५ मा भव्य कार्यक्रमकाबीच नयाँ सफारीलाई सार्वजनिक गर्दै आधिकारिक बिक्री सुरु गरेको हो । कम्पनीले तीन भेरियन्ट बजारमा उपलब्ध गराएको छ जसको मूल्य १ करोड २१ लाख ९९ हजारदेखि १ करोड ३१ लाख ९९ हजार रुपैयाँसम्म तोकिएको छ ।
फिचरले बजारमा नयाँ आकर्षण
नयाँ जेनेरेसन सफारीका विशेष फिचरमध्ये ‘बोस मोड’लाई निकै महत्वपूर्ण मानिएको छ । यस सुविधाले पछाडिबाटै अगाडिको सिटलाई मिलाउन सकिने हुँदा पछाडिका यात्रुलाई अझै बढी आराम मिल्नेछ । लामो यात्रामा थकान नहुने गरी तयार गरिएका सिट, ठूलो पानारोमिक सनरुफ र प्रिमियम इन्टेरियरले सफारीलाई अरु भन्दा भिन्न बनाएको छ ।
यसमा समावेश गरिएको ‘आईआरए कनेक्ट कार टेक’ले गाडीलाई स्मार्ट बनाएको छ । यस फिचरमार्फत ड्राइभरले सुरक्षा, मनोरञ्जन र डायग्नोस्टिक प्रणालीलाई सहजै नियन्त्रण गर्न सक्छ । ८.८ इन्चको फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम र ७ इन्चको टीएफटी इन्ट्रुमेन्ट कन्सोल जडान गरिएको नयाँ ड्यासबोर्डले सफारीलाई आधुनिक स्वरूप दिएको छ ।
इन्जिन र पर्फमेन्स
नयाँ सफारीमा २.० लिटर क्षमताको डिजेल इन्जिन जडान गरिएको छ । यसले अधिकतम १७० पीएस पावर र ३५० एनएम पिक टर्क उत्पादन गर्छ । शक्ति र प्रदर्शन दुवैलाई सन्तुलनमा राख्दै यो इन्जिनले शहरदेखि राजमार्गसम्म सजिलै ड्राइभिङ अनुभव दिन्छ । गाडीमा ६-स्पीड म्यानुअल र ६-स्पीड अटोमेटिक गियरबक्सका विकल्प दिइएका छन्, जसले फरक-फरक ग्राहकको आवश्यकता र रोजाइलाई पूरा गर्नेछ ।
उच्च पावर, प्रशस्त टर्क र सन्तुलित गियरबक्सले नयाँ सफारीलाई परिवारिक प्रयोगदेखि अफ–रोड यात्रा गर्नेसम्मका लागि उपयुक्त बनाएको कम्पनीको दाबी छ ।
भेरियन्ट र मूल्य
सिप्रदीले नेपाली बजारमा नयाँ सफारीलाई तीन भेरियन्टमा ल्याएको छ ।
-अकम्प्लिस्ड प्लस एमटी: मूल्य १ करोड २१ लाख ९९ हजार रुपैयाँ
-अकम्प्लिस्ड प्लस एटी: मूल्य १ करोड २९ लाख ९९ हजार रुपैयाँ
-अकम्प्लिस्ड प्लस डार्क एटी: मूल्य १ करोड ३१ लाख ९९ हजार रुपैयाँ
मूल्य संरचना हेर्दा कम्पनीले प्रतिस्पर्धी मोडलहरूलाई ध्यानमा राखेर रेञ्ज निर्धारण गरेको प्रष्ट देखिन्छ । यसले मध्यमदेखि प्रिमियम एसयूभी खोज्ने ग्राहकलाई विकल्प प्रदान गर्ने अपेक्षा गरिएको छ ।
डिजाइन र लक्जरी अनुभव
नयाँ सफारीको बाहिरी डिजाइनमा आकर्षक ग्रिल, प्रोजेक्टर हेडल्याम्प र सिग्नेचर एलईडी लाइट दिइएको छ । ठूलो बडी स्ट्रक्चरले गाडीलाई बलियो देखाउने मात्र होइन, यात्रुहरूको सुरक्षामा पनि योगदान पुर्याउने विश्वास गरिएको छ ।
भित्री भागमा लेदर फिनिश, आरामदायी सिट, पर्याप्त लेगरुम र आधुनिक ड्यासबोर्डले यसलाई प्रिमियम स्तरमा उभ्याएको छ । ठूलो पानारोमिक सनरुफले यात्रुहरूलाई खुला वातावरणको अनुभव दिनेछ भने स्मार्ट टेक्नोलोजीले हरेक यात्रा रोचक बनाउनेछ ।
सफारी टाटाको आइकोनिक मोडल हो, जसले भारतीय बजारमा लामो समयदेखि लोकप्रियता कमाउँदै आएको छ । नेपालमा पनि यस मोडलप्रति ग्राहकको चासो उच्च रहेको पाइन्छ । अघिल्ला संस्करणले राम्रो स्थान बनाउन सफल भएकोमा नयाँ जेनेरेसन मोडलले त्यसलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ ।













