जीवन बीमकहरूको बीमाकोष ८ खर्ब माथिः नेपाल–एलआईसी र नेशनल अगाडि, वृद्धिमा आइएमई–सिटिजन र प्रभु महालक्ष्मी

काठमाडौं । गत आर्थिक वर्ष (आव) २०८१/०८२ को अन्त्यसम्म जीवन बीमा कम्पनीहरूको बीमाकोषको आकार बढेर साढे ८ अर्ब नजिक पुगेको कम्पनीहरूले हालै सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ। उक्त वित्तीय विवरण अनुसार अघिल्लो आव २०८०/०८१ को असार मसान्तसम्म जीवन बीमा कम्पनीहरूको बीमाकोषको आकार ६ खर्ब ७९ अर्ब ७७ करोड रुपैयाँ रहकोमा गत आवको सोही अवधिसम्म १८.३५ प्रतिशतले बढेर ८ खर्ब ४ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ।
सबैभन्दा ठूलो बीमाकोष भएको कम्पनी नेपाल लाइफको जीवन बीमाकोषमा २ खर्ब ३३ अर्ब ६७ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कम्पनीको १ खर्ब ९५ अर्ब ७ करोड रुपैयाँको जीवन बीमाकोष रहेको थियो। त्यसैगरी दोस्रोमा एलआईसी नेपालको १ खर्ब ३२ अर्ब ९२ करोड रुपैयाँको बीमाकोष रहेको छ भने तेस्रोमा नेशनल लाइफको ८९ अर्ब ९१ करोड रुपैयाँ र चौथोमा हिमालयन लाइफको ७६ खर्ब ९४ करोड रुपैयाँको बीमाकोष रहेको छ।
त्यसपछि सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको ६२ अर्ब २८ करोड रुपैयाँ, एशियन लाइफको ४७ अर्ब ७ करोड रुपैयाँ, सूर्यज्योतिको ४२ अर्ब ३१ करोड रुपैयाँ, मेट लाइफको २९ अर्ब ५८ करोड रुपैयाँ, सिटिजनको १९ अर्ब ८५ करोड रुपैयाँ, सानिमा रिलायन्सको १९ अर्ब २९ करोड रुपैयाँ, प्रभु महालक्ष्मीको १३ अर्ब ८३ करोड रुपैयाँ, रिलायबल नेपालको १३ अर्ब ५७ करोड रुपैयाँ, आइएमई लाइफको १३ अर्ब १० करोड रुपैयाँ र सन नेपाल लाइफको १० अर्ब १० करोड रुपैयाँको बीमाकोष रहेको छ।
वृद्धिदरका आधारमा
कम्पनीहरूको अघिल्लो आवको अन्त्यमा कायम भएको बीमाकोषसँग गत आवको अन्त्यमा कायम भएको सम्बन्धित कम्पनीको बीमाकोषको तुलना गरेर वृद्धिदर हेर्दा आईएमई लाइफले सर्वाधिक वृद्धि गरेको देखिएको छ।
अघिल्लो वर्ष ९ अर्ब १६ करोड रुपैयाँ बीमाकोष रहेको यस कम्पनीले गत वर्ष ४२.९७ प्रतिशत वृद्धि गर्दै १३ अर्ब १० करोड रुपैयाँको बीमाकोष खडा गर्न सफल भएको छ। त्यसैगरी सिटिजनको ३९.०२ प्रतिशत, प्रभु महालक्ष्मीको ३६.७५ प्रतिशत, रिलायबल नेपालको ३६.४५ प्रतिशत, सानिमा रिलायन्सको ३४.४० प्रतिशत, सन नेपालको ३२.८६ प्रतिशत र सूर्यज्योतिको २५.५० प्रतिशतले जीवन बीमाकोष बढेको छ।

त्यसपछि नेपाल लाइफको १९.७९ प्रतिशत, हिमालयन लाइफको १९.४८ प्रतिशत, मेट लाइफको १५.५४ प्रतिशत, राष्ट्रिय जीवन बीमा कम्पनीको १३.८८ प्रतिशत, एलआईसी नेपालको ११.४९ प्रतिशत र एशियन लाइफको १०.५२ प्रतिशतले जीवन बीमा कोषको आधार वृद्धि भएको तथ्यांकले देखाएको छ।
जीवन बीमकहरूका लागि बीमा कोष महत्वूर्ण सूचांक हो। बीमकले व्यवसाय गरेर उठाएको प्रिमियम, बीमालेख धितोको कर्जाबाट उठेको ब्याजदर, मुद्दती निक्षेपबाट संकलित ब्याजदर, लगानी–कर्जा तथा अन्यबाट आय र पुनर्बीमा कमिशन आयबाट मुनाफा संचित गरी बीमा कोषमा केही रकम संचित गरिएको हुन्छ। भविष्यमा कम्पनीमा पर्न सक्ने जोखिम बहनका लागि अनिवार्य बीमाकोष छुट्याएकै हुनुपर्छ।













