सानिमा बैंक दुई ठूला जलविद्युत परियोजनामा एजेन्ट बैंक नियुक्त

६ भाद्र २०८२, शुक्रबार १३:५२

काठमाडौं । द एक्सपोर्ट एन्ड इम्पोर्ट बैंक अफ चाइना (सीईएक्सआईएम) ले सानिमा बैंक लिमिटेडलाई दुई ठूला जलविद्युत परियोजनाका लागि वित्तीय सहजीकरण तथा मध्यस्थकर्ताको रूपमा नियुक्त गरेको छ । यस सम्बन्धी सम्झौता सीईएक्सआईएम बैंकको सिचुआन शाखामा आयोजित विशेष कार्यक्रममा सम्पन्न भएको हो ।

सम्झौतामा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्याल र सीईएक्सआईएम बैंक सिचुआन शाखाकी उपाध्यक्ष यानहुईले हस्ताक्षर गरेका थिए । सम्झौतापश्चात सानिमा बैंकले मनाङ मर्स्याङ्दी हाइड्रोपावर प्रालि (१३५ मेगावाट)–१ र लाङटाङ भोटेकोशी हाइड्रोपावर प्रालि (१२० मेगावाट)–१ परियोजनाका लागि एजेन्ट बैंकका रूपमा काम गर्नेछ ।

समारोहमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे, सीईएक्सआईएम बैंक सिचुआन शाखाका अध्यक्ष चेन शेङग्रोङ तथा एसजीआईसी इन्टरनेशनलका अध्यक्ष लिआयो बिनको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पाण्डेले सानिमा बैंकलाई एजेन्ट बैंकको रूपमा विश्वास व्यक्त गरी छनोट गरेकोमा आभार प्रकट गर्दै सीईएक्सआईएमसँगको सहकार्यले अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्ध विस्तार गर्नुका साथै नेपालमा व्यापार प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

त्यसैगरी, सीईएक्सआईएम र लगानीकर्ता कम्पनीका प्रतिनिधिहरूले दुवै जलविद्युत परियोजना तोकिएको समयमै सम्पन्न गर्न सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*