दुई पुनर्बीमा कम्पनीसँग निर्जीवन बीमा कम्पनीहरु सशंकित, बीमा प्राधिकरणको ध्यानाकर्षण

काठमाडौं । समयमा दावी भुक्तानी फस्र्यौट गर्न नमानेको भन्दै नेपाल बीमक संघले नियामक नेपाल बीमा प्राधिकरण समक्ष पत्राचार गरेको छ । संघका अनुसार नेपाली दुई पुनर्बीमक कम्पनीहरुले दावी भुक्तानी बापतको रकम रोकेका कारण बीमक कम्पनीको वित्तीय तरलतामा समस्या उत्पन्न हुन थालेपछि यस्तो पत्राचार गरिएको हो ।
नेपालमा सञ्चालित दुई वटा पुनर्बीमक कम्पनीहरुले हरेक तेस्रो त्रैमासिक अवधी सकिएको १५ दिनभित्रमा हिसाब किताब राफसाफ गर्नुपर्ने व्यवस्था छ । तर, पुनर्बीमा कम्पनीहरुबाट रकम नपाएको एक बीमा कम्पनीका उच्च अधिकारीले बीमापोष्टसँग गुनासो गरेका छन् ।
जलविद्युत तथा अन्य बीमाको दावी भुक्तानीमा पुनर्बीमा कम्पनीहरुले असहयोग गरेका कारण बीमा कम्पनीले समेत भुक्तानी गर्न नसकेको गुनासो छ । भुक्तानी गर्न रकम समेत अभाव भएको भन्दै नियामक बीमा प्राधिकरणमा नेपाल बीमक संघको तर्फबाट लिखित पत्राचार गरिएको छ ।
दावी भुक्तानी नै रोकिने अवस्था आएपछि बाध्य भएर नियामक गुहार्न पुगेका हौं, एक उच्च अधिकृतले बीमापोष्टसँग भने । नेपालमा नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि इन्स्योरेन्स कम्पनी गरी दुई वटा पुनर्बीमा कम्पनी सञ्चालनमा रहेका छन् ।













