निरन्तर दुर्घटनामा पर्दै किङलङ ईभी माइक्रो, गुणस्तर र सुरक्षा सवालले अटो बजारमै उठायो प्रश्न

दिपक विष्ट
८ भाद्र २०८२, आईतवार ११:२९

काठमाडौँ । चौधरी ग्रुप अन्तर्गत सञ्चालित सिजी मोटर्सले नेपाली बजारमा भित्र्याएको किङलङ विद्युतीय (ईभी) माइक्रो बस पुनः एक पटक दुर्घटनामा परेको छ । विद्युतीय सवारी साधनलाई वातावरणमैत्री र आधुनिक प्रविधिको उपजका रूपमा प्रस्तुत गर्दै बजारमा भित्र्याइएका किङलङका माइक्रो बस निरन्तर दुर्घटनामा परिरहेको तथ्यले गुणस्तर र सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको हो ।

गत साताको शुक्रवार अर्थात् भदौ ६ गते बागलुङको गलकोट नगरपालिका–५ शिवालय मन्दिर नजिकै गलकोट बहुमुखी क्याम्पसको किङलङ ब्रान्डको विद्युतीय भ्यान दुर्घटनामा प-यो । इलाका प्रहरी कार्यालय गलकोटका प्रहरी निरीक्षक देवराज काफ्लेका अनुसार हरिचौरबाट हटिया जाँदै गरेको क्याम्पसको ग१झ ७४३ नं को भ्यान ओरालो बाटोमा ब्रेक नलाग्दा दुर्घटनामा परेको हो । सो दुर्घटनामा सवार १८ वर्षीय सुस्मिता बिक, १८ वर्षीय प्रमीला बिक, २५ वर्षीय मोहोन सिंह सुनार, १९ वर्षीय जीवन खत्री, १९ वर्षीय अमिसा क्षेत्री र १८ वर्षीय सुनिता सापकोटा घाइते भएका छन् । तीमध्ये दुई जनालाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ ।

ओरालो बाटोमा ब्रेक नलाग्दा माइक्रो बस दुर्घटनामा परेको प्रहरी निरीक्षक काफ्लेले बताए । उनले भने, ‘ओरालो बाटो थियो । धेरै स्पीड समेत गाडी थिएन रे । तलबाट गाडी आइरहेको रैछ । ब्रेक लगाउन खोज्दा ब्रेक नै नलागेको भन्ने छ ।’

सवारी चालकले गाडीको प्राविधिक समस्या स्विकार्दै ब्रेक नलाग्दा दुर्घटना भएको बयान दिएको प्रहरी स्रोतले बतायो । सवारी चालकले दिएको जवाफलाई बताउँदै स्रोतले भन्यो, ‘म स्पीडमा समेत थिएन । तलबाट गाडी आइरहेको देखे । गाडी अलि लच्कियो । अनि ब्रेक लगाउन खोज्दा ब्रेक लागेन अनि गाडी आफ्नो कन्ट्रोलमा रहन सकेन् । गाडीमा नै समस्या हो । मेरो कमजोरी यसमा केही छैन । यो गाडीमा बेला बेलामा नाना थरी समस्या यसअघि देखिरहेको थियो ।’

नेपाली अटो बजारमा विद्युतीय माइक्रो बस दुर्घटना हुने क्रम पछिल्ला वर्षहरूमा तीव्र रूपमा बढ्दो छ । गत आर्थिक वर्ष २०८१/०८२ मा मात्रै २६७ वटा विद्युतीय भ्यान दुर्घटनामा परेको तथ्याङ्क प्रहरीसँग छ । यीमध्ये सबैभन्दा बढी दुर्घटनामा पर्ने ब्रान्ड सिजी मोटर्सले भित्र्याएका माइक्रो र एसआरएम बढी रहेको प्रहरीले स्रोतको भनाई रहेको छ ।

सिजी मोटर्सले हेर्दा आकर्षक र आधुनिक देखिने, वातावरणमैत्री प्रविधि भएको भन्दै किङलङ ब्रान्डका माइक्रो बस बजारमा ल्याएको थियो । तर सुरु देखिनै गाडीको सञ्चालन क्षमता, ब्याट्री रेन्ज, चिप्लिने समस्या र सबैभन्दा गम्भीर विषय ‘ब्रेक नलाग्ने’ समस्या लगातार देखिँदै आएको छ । कम्पनीले गरेको प्रचार र वास्तविक प्रयोगकर्ताको अनुभवबिच ठुलो खाडल देखिएको छ । उपभोक्ताहरूको अनुभवअनुसार कम्पनीले दाबी गरेको जस्तो रेन्ज प्राप्त नहुने, ब्याट्री छिट्टै सकिने, गाडीको ग्रिप कमजोर हुने अनि कहिलेकाहीँ पूर्ण रूपमा नियन्त्रण गुम्ने अवस्था आउने गरेको छ ।

किङलङमा समस्या बारम्बार देखिनु कम्पनीको उत्पादन गुणस्तरमा प्रश्न उठाउनु मात्र होइन यसले उपभोक्ताको जीवन रक्षामै प्रश्न खडा गरेको छ । अझ विद्यालयका बालबालिकाहरूलाई ओसारपसार गर्ने संवेदनशील क्षेत्रमा यस्ता असुरक्षित सवारी प्रयोग गर्नु घोर लापरबाही सरह हो । दैनिक सयौँ विद्यार्थी विद्यालय जान–आउन यस्ता गाडीमा भर पर्छन्, जहाँ उनीहरूको सुरक्षामाथि सबैभन्दा पहिलो प्राथमिकता दिनुपर्ने हुन्छ । तर प्रविधिगत परिपक्वता हासिल नगरेका, पर्याप्त परीक्षण नगरेका र बारम्बार गुनासो आइरहेका किङलङका माइक्रो बसलाई विद्यालयले प्रयोग गर्नु आफैँमा शिक्षा व्यवस्थापन तहको जिम्मेवारीमाथि प्रश्न उठी रहेको हो ।

नेपालमा विद्युतीय सवारीसाधनप्रति माग बढ्दो क्रममा छ । इन्धनमा परनिर्भरता कम गर्ने, वातावरण प्रदूषण नियन्त्रण गर्ने र अन्तर्राष्ट्रिय प्रवृत्तिसँग मेल खाने उद्देश्यले विद्युतीय सवारीलाई प्रोत्साहन गरिँदै आएको छ । तर यस्ता सवारी खरिद र प्रयोग गर्दा गुणस्तर र सुरक्षाप्रति गम्भीर ध्यान नदिने प्रवृत्तिले यो अभियान नै गलत दिशातर्फ मोडिदिएको छ ।

सिजी मोटर्सले ल्याएको किङलङ माइक्रो बसले यसअघि पनि राजधानीमा दुर्घटना मच्चाइसकेको तथ्य छ । गत वैशाख २१ गते काठमाडौँको रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणको मुख्य कार्यालय अगाडि पनि यस्तै गाडी दुर्घटनामा परेको थियो ।

सिजी मोटर्सको किङलङ ईभीको सुरक्षामाथि प्रश्न, काठमाडौंमा भयो यस्तो घटना

जेठ १३ गते त्रिशूलीबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०८५४ नम्बरको किङलङ ब्रान्ड दुर्घटनामा परेको थियो । यसअघि पनि विभिन्न जिल्लामा किङलङ माइक्रो बसले सडकमा यात्रुलाई जोखिममा पारिसकेको छ । उक्त ब्रान्ड दुर्घटनाको प्रमुख कारण प्रायः ब्रेक नलाग्ने रहेको सवारी चालकको अनुभवले बताइरहेको छ ।

नुवाकोटमा किङलङ ईभी माइक्रोबस दुर्घटना, ९ जना घाइते

दुर्घटनाको बारे सिजी मोटर्ससँग कुराकानी गर्ने खोज्दा कम्पनी पन्छिँदै आइरहेको छ । सिजी मोटर्सका किरण आचार्यसँग हामीले पटक–पटक सम्पर्क गर्ने खोज्दा उनी जबाफविहीन रहे ।

सम्बन्धीत समाचार:

वर्षदिनमा झण्डै दुई हजार ईभी गाडी दुर्घटनाः ९० जनाको निधन, गुणस्तर कमजोर कि चालकको लापरबाही ?

‘सिजी केवाईसी’ ईभी माइक्रोबस सिन्धुलीको दधौलीस्थित मकैबारीमा उत्तान्टाङ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*