२ अर्ब ६९ करोड लागतको हिमालयन हाइड्रोपावरको रेटिङमा सुधार, वित्तीय स्थिति बलियो बन्दै

८ भाद्र २०८२, आईतवार १२:४१

काठमाडौं । इक्रा नेपालले हिमालयन हाइड्रोपावर लिमिटेडको रेटिङ सुधार गरेको छ । कम्पनीको वित्तीय प्रोफाइल सुधार भइरहेको अवस्थाले रेटिङ सुधारमा मुख्य योगदान पुर्‍याएको इक्रा नेपालले जनाएको छ ।

विशेषगरी कम्पनीको नामर्जुन मादी हाइड्रोपावर आयोजना (११.८८ मेगावाट) बाट आर्थिक वर्ष २०२५ मा करिब १०२ प्रतिशत सम्झौता गरिएको ऊर्जाको उत्पादन भएको छ । साथै आधारदर तथा ब्याजदर घटेकाले वित्तीय खर्च कम भएको छ जसले रेटिङ सुधारलाई थप बल मिलेको हो ।

कम्पनीको इश्युअर रेटिङ [आईसीआरएएनपी–आईआर] डबल बी प्लस (बीबी+) मा सुधार गरिएको हो, जुन अघिल्लो [आईसीआरएएनपी–आईआर] डबल बी माइनस (बीबी-) भन्दा उच्च हो । यो रेटिङले कम्पनीको वित्तीय दायित्व समयमा चुक्ता गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको जनाउँछ । इश्युअर रेटिङ कुनै विशेष ऋण साधनका लागि नभई कम्पनीको समग्र वित्तीय दायित्व चुक्ता क्षमतासम्बन्धी धारणा मात्रै हो ।

यस्तै, इक्रा नेपालले कम्पनीको दीर्घकालीन कर्जा सीमाको रेटिङलाई [इक्रा एनपी] एल डबल बी प्लस (एलबीबी+) मा उकासेको छ, जुन यसअघि [इक्रा एनपी] एल डबल बी माइनस (एलबीबी-) मा रहेको थियो । त्यस्तै, छोटो अवधिको कर्जा सीमाको रेटिङ पनि [इक्रा एनपी] ए फोर प्लस (ए४+) मा सुधार गरिएको छ, जुन यसअघि [इक्रा एनपी] ए फोर (ए४) मात्र थियो ।

कम्पनीको आय सुनिश्चित गर्ने गरी नेपाल विद्युत प्राधिकरण (एनईए) सँग ‘टेक अोर पे’ मोडालिटीमा भएको पावर खरिद सम्झौता (पीपीए) र आयोजनाले सबै नौ पटकको टरिफ वृद्धि पाउने पात्रता हासिल गरेको पक्ष पनि रेटिङमा सकारात्मक रुपमा समावेश गरिएको छ । कास्की जिल्लामा अवस्थित लेखनाथ सबस्टेसन (ग्रिड जडान बिन्दु) को उपलब्धताले आयोजनाको विद्युत निकासी जोखिम न्यून भएको पनि इक्रा नेपालले उल्लेख गरेको छ ।

आयोजनाको कुल लागत २ अर्ब ६९ करोड (प्रति मेगावाट करिब २२ करोड ६० लाख रुपैयाँ) पुगेको छ।

हाल कम्पनीको दीर्घकालीन कर्जा सीमा नेपाली रुपैयाँ १ अर्ब ४० करोड ६ लाख ५० हजारमा सीमित गरिएको छ भने छोटो अवधिको कर्जा सीमा ४ करोड रुपैयाँ कायम गरिएको छ । यससँगै कम्पनीको कुल कर्जा सीमा नेपाली रुपैयाँ १ अर्ब ४४ करोड ६६ लाख पुगेको छ ।

सन् २००४ डिसेम्बरमा निजी लिमिटेड कम्पनीका रूपमा स्थापना भएको हाइड्रोपावरलाई सार्वजनिक सहभागिता सहज बनाउनका लागि सन् २०१७ मे महिनामा सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिएको हो । त्यतिबेलासम्मका प्रमुख सेयरधनीहरूमा खेमबहादुर केसी करिब १२ प्रतिशत हिस्सेदारीसहित, सनिमा बैंक लिमिटेड करिब ५ प्रतिशत हिस्सेदारीसहित र सुधीर यादव करिब २ प्रतिशत हिस्सेदारीसहित रहेका छन् ।

कम्पनीले गण्डकी प्रदेशको कास्की जिल्लामा ११.८८ मेगावाट क्षमताको नामर्जुन मादी जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । नदीको बहावमा आधारित (रन अफ द रिभर) उक्त आयोजना ४० प्रतिशत सम्भाव्य बहाव (क्यू४०) को आधारमा विकास गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*