निर्जीवन बीमकहरुको खुद बीमा दावी बक्यौता १२%ले बढेर ८ अर्ब पुग्यो, नेशनल इन्स्योरेन्सको सबैभन्दा बढी (तथ्यांकसहित)

काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुले बीमितलाई तिर्नुपर्ने खुद बीमा दावी भुक्तानी बक्यौता ८ अर्बबढी रुपैयाँ रहेको छ । नेपालमा सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको गत आवको विवरण अनुसार बीमितहरुलाई दिन बाँकी रहेको खुद दावी भूक्तानी वापतको रकम ८ अर्ब तीन करोड ९४ लाख रुपैयाँ रहेको देखिएको हो ।
विवरण अनुसार अघिल्लो आवको सोही अवधिमा तुलनामा निर्जीवन बीमा कम्पनीहरुले दावी भुक्तानी गर्नुपर्ने रकम १२.४१ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीहरुको यस्तो बक्यौता रकम सात अर्ब १५ करोड २० लाख रुपैयाँ रहेको थियो ।
निर्जीवन बीमा कम्पनीहरुले यस आवमा बाढी पहिरो, विभिन्न हुलदङ्गा, आन्दोलन लगायतका कुराहरुले बीमा दावी बक्यौता बढी रहेको जनाएका छन् । कम्पनीहरुले बीमा दावी भुक्तानीलाई सक्दो चाँडो दिने कोशीस गरीरहेको भएपनि सर्भेयर, प्रहरी रिपोर्ट र पुनर्बीमा कम्पनीहरुको लापरबाहीले ढिला हुने गरेको प्रतिक्रिया दिने गरेका छन् ।
समीक्षा अवधिमा नेशनल इन्स्योरेन्स बीमा दावी बक्यौताको भुमरीमा परेको छ । वित्तीय अवस्था पनि निकै कमजोर बन्दै गएको यस कम्पनीको बीमा दावी बक्यौता सबैभन्दा बढी रहेको छ भने अघिल्लो आवको तुलनामा पनि सर्वाधिक बृद्धि भएको छ । बीमा दावी बक्यौता उच्च भएका कारणले नेशनल इन्स्योरेन्सप्रति बीमितले चाँडै विश्वास गर्न सक्ने वातावरण रहदैन् । कम्पनीले बीमितहरुलाई एक अर्ब पाँच करोड ४२ लाख रुपैयाँ बीमा दावी वापतको रकम भुक्तानी गर्न बाँकी रहेको छ ।
साथै, बीमा दावी बक्यौताको आधारमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । कम्पनीको बीमा दावी बक्यौता ८९ करोड २७ लाख रुपैयाँले रहेको छ । कम्पनीले बीमा दावी भुक्तानीलाई निकै छिटो छरितो फछ्यौट गरेको कारण अघिल्लो आवको तुलनामा बक्यौता रकम केही प्रतिशतले घटाएको छ ।

समीक्षा अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ८२ करोड ३७ लाख रुपैयाँ, द ओरियण्टल इन्स्योरेन्सको बढेर ८० करोड ७६ लाख रुपैयाँ, नेको इन्स्योरेन्सको ७५ करोड ६१ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीको ५५ करोड २० लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ५२ करोड ७६ लाख रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको ५२ करोड २० लाख रुपैयाँ बीमा दावी बक्यौता रहेको छ ।
साथै, शिखर इन्स्योरेन्सको ४६ करोड १८ लाख रुपैयाँ, सानिमा जिआईसी इन्स्योरेन्सको ४२ करोड रुपैयाँ, युजाइटेड अजोड इन्स्योरेन्सको ३५ करोड ३४ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सको ३४ करोड ५३ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सको २२ करोड दुई लाख रुपैयाँमात्र बीमा दावी बक्यौता रहको छ ।













