सरकारको चालु खाता चार खर्ब ९ अर्ब बचतमा, बलियो बन्दै शोधनान्तर स्थिति

काठमाडौं । आर्थिक वर्ष २०८१–८२ मा चालु खाता चार खर्ब ९ अर्ब २० करोड रूपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले यस्तो देखाएको हो । अघिल्लो वर्ष चालु खाता दुई खर्ब २१ अर्ब ७१ करोड रुपैयाँले बचतमा रहेको थियो।
अमेरिकी डलरमा अघिल्लो वर्षमा एक अर्ब ६७ करोडले बचतमा रहेको चालु खाता समीक्षा वर्षमा तीन अर्ब एक करोडले बचतमा रहेको छ । समीक्षा वर्षमा खुद पुँजीगत ट्रान्सफर नौ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षमा यस्तो ट्रान्सफर पाँच अर्ब ८१ करोड रुपैयाँ रहेको थियो।
यसैगरी, समीक्षा वर्षमा प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) १२ अर्ब २ करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो वर्ष यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ८ अर्ब ४७ करोड रुपैयाँ रहेको थियो।
समीक्षा वर्षमा शोधनान्तर स्थिति ५९४ अर्ब ५४ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति ५०२ अर्ब ४९ करोड रुपैयाँले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्ष ३ अर्ब ७७ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा ४ अर्ब ३७ करोडले बचतमा रहेको छ ।











