बीमालेख धितोकर्जा लिएका बीमितलाई सम्पूर्ण जानकारी समयमै दिन बीमा कम्पनीहरुलाई निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूले बीमालेखको सुरक्षणमा बीमितलाई दिएको कर्जाबारे स्पष्ट बुझिने गरी जानकारी गराउन निर्देशन दिएको छ । प्राधिकरणले आइतबार बीमा कम्पनीहरुलाई सशक्त रुपमा बीमालेख धितो कर्जा लगायतका विषयमा सहज रुपले समयमै जानकारी दिन निर्देशन दिएको हो ।
प्राधिकरणले बीमा कम्पनीले बीमालेख कर्जा, रकम, ब्याज गणना विधि, कर्जा भुक्तानी गर्नुपर्ने समय–तालिका र भुक्तानी नगर्दा हुने परिणामका बारेमा विद्युतीय माध्यम वा पत्रमार्फत स्पष्ट बुझिने गरी समयमैं जानकारी दिन सबै बीमा कम्पनीलाई निर्देशन दिएको छ ।
बीमा कम्पनीहरूले बीमालेख सुरक्षणमा प्रदान गरिएका कर्जा असुलीका क्रममा भुक्तान हुन बाँकी रहेको कर्जा रकम तथा ब्याजको गणना विधिका सम्बन्धमा बीमितलाई पर्याप्त जानकारी नदिने र अन्तिममा परिपक्व भुक्तानी तथा दाबी रकमबाट कट्टा गर्ने गर्दा बीमित तथा हिताधिकारीरूलाई मर्का परेको भनी गुनासाहरू आएको सन्दर्भमा प्राधिकरणले बीमा कम्पनीहरूलाई त्यस्तो निर्देशन दिएको हो ।
प्राधिकरणले दिएको निर्देशनमा भनिएको छ, ‘बीमा कम्पनीहरूले बीमालेख सुरक्षणमा बीमितलाई कर्जा दिँदा कर्जा रकम, ब्याज गणना विधि, कर्जा भुक्तानी गर्नुपर्ने समय–तालिका र भुक्तानी नगर्दा हुने परिणामका बारेमा कर्जाको ब्याज भुक्तानी गर्ने अवधि समाप्त हुनुभन्दा कम्तीमा तीस (३०) दिन अगावै बीमितले स्पष्ट बुझ्ने गरी एसएमएस वा इमेल वा पत्रमार्फत अनिवार्य जानकारी गराउने व्यवस्था गर्न/गराउन परिपत्र गरिएको छ ।’
प्राधिकरणले बीमा कम्पनीहरूले ऋण तथा व्याज असुलीका लागि स्मरणपत्र वा जानकारी दिई वीमितको ध्यानाकर्षण गर्नु उनीहरूको कर्तव्य भएको समेत स्मरण गराएको छ । नेपाल बीमा प्राधिकरणले पछिल्लो समय विभिन्न तरिकाले बीमालेख कर्जाको दुरुपयोग भएको र बीमितहरुले निकै दुःख पाएको गुनासो पाएपश्चात उक्त निर्देशन दिएको छ ।
प्राधिकरणको उक्त निर्देशनले बीमालेख धितो राखेर कर्जा लिएका बीमितहरुलाई निकै सहज हुने विश्वास लिएको छ । अब कम्पनीहरुले कर्जा लिएका बीमितहरुलाई समयमै सबै जानकारी विभिन्न सहज माध्यमको प्रयोग गरी उपलब्ध गराउनु पर्ने भएको छ । कर्जाको मिति सकिने एक महिना अघिनै बीमितलाई कल, एसएमएस तथा विभिन्न प्रविधिको प्रयोग गरी जानकारी गराउनु पर्ने भएको छ ।













