गुरुङको भाटभटेनी सुपर स्टोरलाई कारबाही, विभागले तिरायो २ लाख जरिवाना

८ भाद्र २०८२, आईतवार १८:२९

काठमाडौँ । मीनबहादुर गुरुङको भाटभटेनी सुपर स्टोर कारबाहीमा परेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार हानेको छापामा भाटभटेनीलाई नगदसहितको जरिवाना तिराएको हो ।

विभागका अनुसार अनुगमनको क्रममा काठमाडौं महानगरपालिका–१४ मा सञ्चालनमा रहेको भाटभटेनी सुपर स्टोरलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । उक्त स्टोरलाई दफा ३८ को ङ बमोजिम कसुर र सोहि ऐनको दफा ३९ को १ (ख) बमोजिम कारबाही गरेको हो ।

उपभोक्ता संरक्षण ऐनको दफा ३८ (ङ) अनुसार ‘वस्तुको गुणस्तर, परिमाण, मूल्य वा बनावट ढाँटी वा लुकाई विक्री’ गरेमा अपराध मानिन्छ ।

त्यस्तै, विभागले काठमाडौं महानगरपालिका–२४ मा रहेको विनय स्टोर्सलाई दश हजार रुपैयाँ जरिवाना गरिएको छ ।

त्यसैगरी दक्षिणकाली आयल स्टोर्स प्रालि, जेएच स्टोर्स, खुशी ट्रेड इन्टरनेशनल, मुकेश इम्पोरियम, इस कलेक्सन सेन्टर, रस कटर ट्रेडिङ्ग, द ब्याग क्लिस, पाकिजा स्टोर, फेवा इन्टरप्राइजेज प्रालि र श्री लक्ष्मी माँ स्टोर्सलाई व्यवसायसँग सम्बन्धित कागजात तीन दिनभित्र विभागमा पेश गर्न वा आवश्यक स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिइएको विभागले जनाएको छ।

केही फर्मलाई सामान्य निर्देशनमा मात्रै सीमित गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*