नेपाल तयारी पोशाक संघको चुनौती र अवसरबारे छलफल, सहयोग गर्ने मन्त्री भण्डारीको प्रतिवद्धता

९ भाद्र २०८२, सोमबार १३:३४

काठमाडौं । नेपाल तयारी पोशाक उद्योग संघले शनिबार संघको सचिवालय, नयाँ बानेश्वरमा “नेपालको तयारी पोशाक उद्योगको वर्तमान अवस्था, चुनौती र अवसर” विषयमा छलफल कार्यक्रम आयोजना गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख अतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो।

संघका अध्यक्ष पशुपति देव पाण्डेले स्वागत मन्तव्य दिंदै अमेरिकी सरकारको भन्सार नीतिले ट्रान्ससिपमेन्टको समस्या गहिरिंदै गएको र नेपालले यसलाई अवसरका रूपमा उपयोग गर्न चनाखो रणनीति आवश्यक रहेको धारणा राखे। साथै उनले तयारी पोशाक र कपडा उद्योगको प्रवद्र्धनका लागि “टेक्स्टटाइल एण्ड क्लोथिंग डेभलपमेन्ट काउन्सिल” गठन गर्नुपर्ने आवश्यकता औंल्याए।

प्रमुख अतिथि मन्त्री भण्डारीले आसन्न नेपाल–अमेरिका “ट्रेड एण्ड इन्भेष्टमेण्ट फ्रेमवर्क एग्रीमेन्ट (टिफा)” वार्तालाई फलदायी बनाउन तयारी भइरहेको जानकारी दिए। उनले ट्रान्ससिपमेन्टको अवस्थामा भन्सार महसुल बढ्न सक्ने भन्दै सरकार गम्भीर रहेको बताए। तयारी पोशाक लगायत निर्यातजन्य वस्तु उत्पादनले रोजगारी सिर्जना, अर्थिक विकास र निर्यात प्रवद्र्धनमा टेवा पुर्‍याउने भन्दै सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले तयारी पोशाकको खपत निर्धारणसम्बन्धी कार्य सम्पन्न भइसकेको र विभाग निर्यातमुखी उद्योगलाई सहयोग गर्न तत्पर रहेको बताए। कार्यक्रममा संघका पूर्व अध्यक्ष, विभिन्न वस्तुगत संघका अध्यक्ष तथा संघका सदस्यहरूको उपस्थितिमा महासचिव भीमकुमार गिरीले सञ्चालन गरेका थिए।

संघले मन्त्री भण्डारीको दृढ संकल्प, सोच र इच्छाशक्तिले संघलाई थप जिम्मेवारी सहित देशको आर्थिक विकास, उद्योग विस्तार र निर्यात प्रवद्र्धनतर्फ अघि बढ्न प्रेरणा मिलेको भन्दै आभार व्यक्त गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*