बिना प्रमाणित औषधि बालबालिकामा खुवाउँदै मन्त्री पौडेल, स्वास्थ्यमा गम्भीर खेलवाड

९ भाद्र २०८२, सोमबार १४:०७

काठमाडौँ ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले भदौ ५ गते सुरु गरेको ‘स्वर्ण विन्दु प्राशन’ कार्यक्रम देशभर विवादमा परेको छ। मन्त्रीले वैज्ञानिक परीक्षण, औषधि दर्ता वा प्रभाव प्रमाणित नगरी ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई सुन मिश्रित औषधि खुवाउन सुरु गरेका हुन्।

कार्यक्रम अन्तर्गत बालबालिकालाई घिउ र महसँग मिलाइएको सुन प्रशोधित औषधि खुवाइने व्यवस्था गरिएको छ। तर चिकित्सक र विशेषज्ञहरूले १२ महिनाभन्दा कम उमेरका बालबालिकामा मह प्रयोग गर्न नहुने चेतावनी दिएका छन्। जोखिमपूर्ण सामग्रीले बालबालिकामा पाचन समस्या, मांसपेशी कमजोरी र स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने बताइएको छ।

स्वास्थ्य मन्त्रालयले कार्यक्रम सञ्चालनको जिम्मा आयुर्वेदिक संस्थाहरूलाई दिएको छ। विभागले औषधि उत्पादन गर्ने व्यवस्था स्थानीय आयुर्वेदिक अस्पतालमा गर्ने निर्णय गरेको छ, तर उत्पादन प्रक्रिया, मात्रा र निगरानीबारे स्पष्ट मापदण्ड तोकेको छैन।

विशेषज्ञहरूले औषधिको वैज्ञानिक पुष्टि नभएको, हानिकारक धातु मिसावटको सम्भावना रहेको र दीर्घकालीन असरको अध्ययन नभएको अवस्था पनि जोखिमपूर्ण भएको बताएका छन्। सरकारले बिना परीक्षण र प्रमाणिकरण राष्ट्रिय कार्यक्रम लागू गर्नु स्वास्थ्य सुरक्षाको दृष्टिले असंवेदनशील कदम ठहरिएको छ।

देशभर ३७ लाख बालबालिकालाई कार्यक्रममा समावेश गर्ने लक्ष्य राखिएको भए पनि सुरक्षा मापदण्ड र वैज्ञानिक आधार नबनाइएपछि बालबालिकामा गम्भीर स्वास्थ्य जोखिम देखिने सम्भावना रहिरहेको छ।

स्वास्थ्य विज्ञहरूले कार्यक्रम जारी राख्दा जोखिम उच्च हुने र बालबालिकामा नकारात्मक प्रभाव देखिन सक्ने अवस्था छ। यद्यपि मन्त्रीले अहिलेसम्म जोखिम मूल्यांकन वा कार्यक्रम संशोधनको योजना सार्वजनिक गरेका छैनन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*