जीवन बीमकहरूको एकल बीमाशुल्क आर्जन ह्वात्तै बढ्यो, कुन कम्पनीको कति?

९ भाद्र २०८२, सोमबार १४:२३

काठमाडौं । गत आर्थिक वर्ष (आव) २०८१/०८२ मा जीवन बीमक कम्पनीहरूको एकल बीमाशुल्क बापतको रकम ह्वात्तै बढेको कम्पनीहरूले प्रकाशित गरेको वित्तीय विवरणले देखाएको छ।

अघिल्लो आव २०८०/०८१ मा कम्पनीहरूले एकल बीमाशुल्क बापत कुल ८ अर्ब ११ करोड ९२ लाख रुपैयाँ संकलन गरेकोमा गत आवमा ५९.२१ प्रतिशतले बढेर १२ अर्ब ९२ करोड ६५ लाख रुपैयाँ पुगेको छ।

एकल बीमाशुल्क (सिंगल प्रिमियम) भनेको बीमितले बीमा गरेबापत कम्पनीलाई समयसमयमा तिर्नुपर्ने प्रिमियम रकम बीमा गर्दाखेरि एकैपटक तिरिएको रकम हो। यसमा मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रूपमा किस्ताबन्दीमा नभई बीमा गर्दाखेरि एकैपटक ठूलो रकम बुझाइन्छ।

जीवन बीमा कम्पनीहरूले यस्तो पोलिसी पनि ल्याएका छन् जहाँ प्रिमियम बापतको रकम एकैपटक तिरेर बीमा गरिन्छ। यसमा पटकपटक प्रिमियम तिर्नुपर्ने वा तिर्न बिर्सिने झन्झट वा प्रिमियम तिर्न नसकेर बीमा सरेण्डर गर्नुपर्ने अवस्था आउदैन र एकमुष्ट प्रिमियम तिर्दा छुट सुविधा पनि दिइएको हुन्छ।

गत आवमा नेपाल लाइफले एकल बीमाशुल्कको पोलिसी बेचेर सबैभन्दा बढी ४ अर्ब ६१ करोड ५६ लाख रुपैयाँ संकलन गरेको छ भने दोस्रोमा नेशनल लाइफले २ अर्ब ३८ करोड ९४ लाख रुपैयाँ र तेस्रोमा सूर्यज्योति लाइफले १ अर्ब १ करोड ९४ लाख रुपैयाँ संकलन गरेका छन्।

त्यसैगरी सन नेपाल लाइफले ८५ करोड ४८ लाख रुपैयाँ, सिटिजन लाइफले ६९ करोड ८६ लाख रुपैयाँ, एशियन लाइफले ६६ करोड ३९ लाख रुपैयाँ, एलआईसी नेपालले ५७ करोड ९४ लाख रुपैयाँ संकलन गरेका छन्।

त्यसपछि मेटलाइफले ५३ करोड ३० लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ४७ करोड ६४ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ४२ करोड २० लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ४० करोड ८३ लाख रुपैयाँ, हिमालयन लाइफ र आइएमई लाइफले १३ करोड २६ लाख रुपैयाँ संकलन गरेका छन्।

वृद्धिदरको आधारमा
अघिल्लो आवमा एकल बीमा पोलिसी काटेर संकलन गरेको रकमलाई गत आवमा सोही कम्पनीले सोही पोलिसी बापत संकलन गरेको रकमसँग दाँजेर हेर्दा ११ कम्पनीको बढेको छ भने २ कम्पनीको मात्रै घटेको छ।

रिलायबल नेपाल लाइफको सर्वाधिक ९०८.५१ प्रतिशतको उछाल देखिएको छ भने दोस्रोमा प्रभु महालक्ष्मी लाइफको १६१.९७ प्रतिशत र तेस्रोमा एलआईसी नेपालको १२८.१६ प्रतिशतले एकल बीमाशुल्क संकलन बढेको छ।

स्रोतः सम्बन्धित जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरण

त्यसैगरी नेपाल लाइफको १११.६२ प्रतिशत, सिटिजन लाइफको १०८.९५ प्रतिशत, सानिमा रिलायन्स लाइफको ९६.८६ प्रतिशत, आइएमई लाइफको ६४.१० प्रतिशत, सूर्यज्योति लाइफको ६३.१५ प्रतिशत र नेशनल लाइफको २६.३८ प्रतिशतले बढेको छ

त्यसपछि एशियन लाइफको ३.६६ प्रतिशत र मेटलाइफको ०.४२ प्रतिशतले बढेको छ तर दुई कम्पनी हिमालयन लाइफको १२.३७ प्रतिशत र सन नेपाल लाइफको १४ प्रतिशतले एकल बीमाशुल्क संकलन घटेको छ। यता सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले अहिलेसम्म अडिट नगराएकाले यी विवरणहरू उपलब्ध नै छैनन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*