प्रि–आईपीओ नाममा पैसा उठाउने कार्य तत्काल रोक्न धितोपत्र बोर्डको कडा चेतावनी

९ भाद्र २०८२, सोमबार १७:२२

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रि–आईपीओ को नाममा सर्वसाधारणबाट अनधिकृत रुपमा पैसा उठाउने कार्य रोक्न कडा चेतावनी दिएको छ । पछिल्ला दिनमा सामाजिक सञ्जाल, इमेल र मोबाइल एसएमएसमार्फत केही कम्पनीका नाममा नजिकै सार्वजनिक निष्काशन (आईपीओ) हुने भन्दै शेयर खरिद गर्न प्रस्ताव गर्ने गतिविधि बढेको गुनासो आएपछि बोर्डले यसबारे गम्भीर ध्यानाकर्षण गराएको हो । बोर्डले यस्ता क्रियाकलाप कानुनविपरीत मात्र नभई दण्डनीय समेत हुने भएकाले लगानीकर्तालाई सहभागी नहुन आग्रह गरेको छ ।

बोर्डले मंगलबार प्रकाशित सूचनामा अनुसार हाल प्रचलित कानुनमा प्रि–आईपीओ भन्ने कुनै व्यवस्था छैन । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २९ को उपदफा (१) अनुसार कुनै संगठित संस्थाले एक पटकमा पचास जना भन्दा बढी व्यक्तिलाई धितोपत्र बिक्री वितरण गर्न चाहने हो भने त्यस्तो बिक्री सार्वजनिक निष्काशनमार्फत मात्रै गर्नुपर्ने प्रावधान छ । त्यसैले बोर्डको स्वीकृति विना कुनै पनि कम्पनी वा संस्थाले सर्वसाधारणसँग शेयर खरिदबिक्री गर्ने कार्य गर्न सक्दैन ।

सूचनामा भनिएको छ, ‘लगानीकर्ताबाट प्राप्त गुनासोअनुसार सामाजिक सञ्जाल, इमेल र एसएमएसमार्फत् केही व्यक्तिहरुले प्रि–आईपीओको नाममा कम्पनीका शेयर खरिद गर्न प्रस्ताव गरी अवैध रूपमा रकम उठाइरहेका छन् । यस्तो कार्य तत्काल रोक्न बोर्डले अनुरोध गर्दछ ।’ यसरी कानुन विपरीत गरिएका कार्य दण्डनीय हुने चेतावनी पनि दिइएको छ ।

धितोपत्र बोर्डमा पुगेका गुनासोका आधारमा कतिपय कम्पनी वा समूहले चाँडै आईपीओ आउँदैछ भन्ने प्रलोभनमा लगानीकर्तालाई फसाउने र त्यसअघि नै शेयर सुरक्षित गर्न सकिन्छ भन्ने प्रलोभन देखाएर रकम संकलन गर्ने गरेको खुलेको छ । यसरी संकलित रकम वैधानिक हैसियत नहुने भएकाले लगानीकर्ताले आफ्नो सम्पत्ति गुमाउने खतरा रहने बोर्डको निष्कर्ष छ । नियामक निकायले यस्तो प्रवृत्ति सर्वथा अस्वीकार्य भएको भन्दै यसमा संलग्नहरुलाई कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ ।

बोर्डले यसरी लगानीकर्तालाई सचेत रहन आग्रह गर्दै भनेको छ, ‘सार्वजनिक निष्काशन नभएका कम्पनी वा संस्थाका शेयर खरिदबिक्रीका लागि बोर्डको स्वीकृति अनिवार्य हुन्छ । यसबाहेकका क्रियाकलापमा सहभागी हुनु कानुन विपरीत मात्र नभई व्यक्तिगत लगानी जोखिममा पार्ने काम पनि हो ।’ लगानीकर्ताले कुनै पनि कम्पनीको शेयर खरिद गर्नु अघि बोर्ड वा आधिकारिक निकायको स्वीकृति प्राप्त सूचना मात्र आधार बनाउनुपर्नेमा पनि सूचनाले जोड दिएको छ ।

धितोपत्र बोर्डले जारी गरेको चेतावनीले बजारमा फैलिएको भ्रमलाई चिर्ने अपेक्षा गरिएको छ । पछिल्ला वर्षहरुमा आईपीओप्रति लगानीकर्ताको चासो उच्च रहेकाले केही व्यक्तिहरु वा समूहले यसैलाई प्रयोग गरी अवैध रुपमा रकम उठाउने प्रयास गर्ने गरेका छन् । यस्तो अवस्थामा बोर्डले समयमै सचेतना दिएकाले सर्वसाधारणलाई ठगिने जोखिमबाट जोगाउन मद्दत गर्ने देखिन्छ ।

बोर्डले भनेको छ, ‘धितोपत्र सम्बन्धी ऐन, २०६३ विपरीत हुने यस्ता कार्यहरु दण्डनीय अपराध हुन् । त्यसैले यस्ता कार्यमा संलग्न नहुन सबैलाई सचेत गराइन्छ ।’ बोर्डले यसरी कानुनी प्रावधान खुलेर उल्लेख गरेपछि प्रि–आईपीओ नामक चलन कानुनी रुपमा अमान्य भएको स्पष्ट भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*